रानाग रिन्पोछे (डोल्पो बुद्ध) को ३० वर्षे शिक्षा अभियान समेटिएको ‘दीप’ पुस्तक सार्वजनिक

हिमाली क्षेत्रमा शिक्षा पहुँचको असमानता, विद्यालय शिक्षाबाट वञ्चित समुदायको पीडा र शिक्षाका लागि तीन दशकदेखि जारी रानाग रिन्पोछे (डोल्पो बुद्ध)को अभियान समेटिएको पुस्तक दीप सार्वजनिक भएको छ । रानाग रिन्पोछेद्वारा लिखित पुस्तकले अज्ञानताको अन्धकार हटाउँदै ज्ञानको उज्यालो फैलाउने प्रतीकात्मक सन्देश बोकेको छ । पुस्तकमा हिमाली क्षेत्रको वर्तमान शैक्षिक अवस्था, शिक्षामा विद्यमान विभेद, विद्यालय शिक्षाबाट वञ्चित मानिसहरूले भोग्नुपरेका कठिनाइ तथा शिक्षा प्राप्तिका अवसरहरूबारे चर्चा गरिएको छ ।

रिन्पोछेले विगत ३० वर्षदेखि हिमाली क्षेत्रमा शिक्षा विस्तार र शैक्षिक अवसर सिर्जना गर्न गरेको संघर्ष, अनुभव, योगदान तथा उपलब्धिहरूलाई समेत पुस्तकमा समेटिएको छ । शिक्षालाई जीवन परिवर्तनको आधार बनाउने र हिमाली समुदायसम्म शिक्षाको पहुँच पु¥याउने रिन्पोछेको अभियान पुस्तकको मुख्य विषयवस्तु हो ।

पुस्तक रिन्पोछे र नेपालका वरिष्ठ पत्रकार अखण्ड भण्डारीको संयुक्त अनुसन्धान तथा लेखनमा तयार भएको हो । पत्रकार भण्डारीको सहकार्यमा तयार पुस्तकले नेपाली समाजमा शिक्षाको महत्वबारे थप जागरण पैदा गर्ने विश्वास गरिएको छ ।

पुस्तक विमोचन कार्यक्रममा चिकित्सकसहित विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले पुस्तकको विषयवस्तु र शिक्षा अभियानको प्रशंसा गर्दै यसलाई अंग्रेजी तथा चिनियाँ भाषामा समेत प्रकाशन गर्नुपर्ने सुझाव दिएका छन् ।

पुस्तक विमोचन कार्यक्रममा रिन्पोछे रानागले आफु धेरै धनी नभएको तर पहिला धेरै विश्वास गरेर दान गर्ने दाताहरु भएको तर अहिले आफ्नो विद्यालय चलाउन निकै गारो भएको बताए । त्यसैले पनि शिक्षाका लागि आफुले गरेको संघर्षलाई सार्वजनिक गर्नका लागि पनि पुस्तक लेखेको उनको भनाइ छ ।

हिमाली क्षेत्रको शिक्षा संकट, अवसरको असमानता र शिक्षाका लागि समर्पित तीन दशकको यात्रा समेटिएको दीपले नेपालको शिक्षा बहसलाई समुदायको वास्तविक पीडासँग जोड्ने प्रयास गरेको छ । पुस्तकलाई अन्तर्राष्ट्रिय भाषामा प्रकाशन गरेर विश्व समुदायसम्म पु¥याउनुपर्ने आवाजसमेत उठेको छ ।

यो पूस्तक बिक्रिबाट उठ्ने सम्पुर्ण रकम काठमाडौँको बुढानिलकण्ठमा रहेको स्नोल्याण्ड रानाग लाइट अफ एजुकेसन स्कुलका लागि जाने समेत रिन्पोछे रानागले कार्यक्रममा बताए । यो स्कुलबाट हालसम्म ५ हजारभन्दा बढिले शिक्षाको उज्यालो पाइसकेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट