मकवानपुरमा ईभी दुर्घटना, १० जनाको मृत्यु, ५ घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डबाट करिब ५०० मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा ३ महिला, ५ पुरुष र २ बालिका रहेका छन् । दुर्घटनामा घाइते भएका ३ पुरुष र २ बालकको उद्धार गरिएको छ ।

घाइतेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव र ३ वर्षीय सुदन यादवलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ । मुकेशको टाउको र ढाडमा चोट लागेको छ भने सक्षमको शरीरमा भित्री चोट लागेको छ । दुवैको अवस्था सामान्य रहेको जनाइएको छ । सुदनको टाउको र मुखमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट