आज महागुरु फाल्गुनन्दको जन्मजयन्ती : धर्मको पुनर्जागरणदेखि समाज सुधारको अभियानसम्म

काठमाडौं । किरात धर्म, संस्कृति र सामाजिक पुनर्जागरणका अग्रणी व्यक्तित्व महागुरु फाल्गुनन्द लिङ्देनको आज विशेष स्मरण गरिँदैछ । हरेक वर्ष कात्तिक २५ गते उनको जन्मजयन्ती विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम गरी मनाइन्छ । वि.सं. १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा जन्मिएका फाल्गुनन्दलाई किरात समुदायले महान् धार्मिक गुरु र समाज सुधारकका रूपमा सम्मान गर्दै आएको छ ।

फाल्गुनन्दले आफ्नो जीवन किरात धर्म, मुन्धुम, भाषा, लिपि र मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा समर्पित गरे । धार्मिक उपदेशमा मात्र सीमित नरही उनले तत्कालीन समाजमा व्याप्त मदिरापान, पशुबलि, मांसाहार, अन्धविश्वास र विवाह संस्कारमा हुने अनावश्यक खर्चविरुद्ध अभियान सञ्चालन गरे ।

उनको सामाजिक सुधार अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धि वि.सं. १९८८ वैशाख २४ गते पाँचथरको लब्रेकुटीमा जारी गरिएको सातबुँदे सत्यधर्म मुचुल्कालाई मानिन्छ । किरात समुदायका अगुवा तथा प्रतिनिधिहरूको भेलाबाट पारित उक्त मुचुल्काले सत्य, अहिंसा, सदाचार, धार्मिक शुद्धता, सामाजिक एकता र मितव्ययी जीवनशैलीलाई प्राथमिकता दिएको थियो ।

फाल्गुनन्दले धार्मिक अनुष्ठानमा पशुबलिको सट्टा शुद्ध सामग्री प्रयोग गर्न, मदिरापान त्याग्न, समाजमा आपसी सद्भाव कायम गर्न र महिलालाई सम्मान गर्न प्रेरित गरे । त्यस्तै, किरात समुदायको मौलिक धार्मिक ग्रन्थ मुन्धुम, सिरिजङ्गा लिपि र सांस्कृतिक परम्पराको संरक्षणमा पनि उहाँको योगदान महत्वपूर्ण मानिन्छ ।

किरात धर्मको दर्शनमा प्रकृति, सृष्टि, पूर्वज र सम्पूर्ण प्राणीप्रतिको सम्मानलाई विशेष महत्त्व दिइन्छ । फाल्गुनन्दले पनि सत्य, अहिंसा, करुणा र अनुशासित जीवनलाई आफ्नो शिक्षाको आधार बनाएका थिए ।

वि.सं. २००५ मा उनको निधन भए पनि उनले सुरु गरेको धार्मिक तथा सामाजिक जागरण अभियान अहिले पनि निरन्तर छ । किरात समुदायको धार्मिक तथा सांस्कृतिक पहिचान स्थापित गर्न पु¥याएको योगदानको कदर गर्दै नेपाल सरकारले वि.सं. २०६६ मंसिर १६ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

धर्मलाई कर्मकाण्डमा मात्र सीमित नराखी सामाजिक विकृति हटाउने र मानवीय जीवनलाई अनुशासित बनाउने अभियान चलाएका फाल्गुनन्द नेपाली समाजका एक महत्वपूर्ण धार्मिक चिन्तक तथा समाज सुधारकका रूपमा स्मरणीय छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट