भाइटीका : मृत्युका देवता यमराजसँगै जोडिएको प्रेमको पर्व, सातरङ्गी टीकामा दाजुभाइ–दिदीबहिनीको सम्बन्ध

काठमाडौं । संसारका धेरै संस्कृतिमा प्रेम, सद्भाव र पारिवारिक सम्बन्धका लागि विभिन्न पर्व मनाइन्छन् । तर मृत्युकै देवता यमराजलाई समेत बहिनीको प्रेम र भक्तिसँग जोड्ने अनौठो धार्मिक विश्वास बोकेको पर्व हो– भाइटीका । नेपाली समाजमा दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, समर्पण र जीवनभरको सम्बन्धलाई उत्सवका रूपमा मनाइने भाइटीका आज देशविदेशमा रहेका नेपालीले उल्लासपूर्वक मनाउँदैछन् ।

तिहारको पाँचौँ तथा अन्तिम दिन कार्तिक शुक्ल द्वितीयामा मनाइने भाइटीकालाई यमद्वितीया पनि भनिन्छ । धार्मिक मान्यताअनुसार यमराज आफ्नी बहिनी यमुनाको निमन्त्रणामा भेट्न पुगेको र यमुनाले पूजा, टीका तथा सत्कार गरेर दाजुको दीर्घायुको कामना गरेको प्रसंगसँग यो पर्व जोडिएको छ । बहिनीको प्रेमबाट प्रसन्न यमराजले यस दिन विधिपूर्वक टीका लगाउने दाजुभाइलाई दीर्घायु र सुखसमृद्धिको आशीर्वाद दिने वरदान दिएको धार्मिक विश्वास छ ।

यस दिन दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाउँदै मखमली, सयपत्री र दुबोको माला पहि¥याउँछन् । ओखर, फलफूल, मिठाई तथा सेलरोटी खुवाएर स्वास्थ्य, सुख, शान्ति र दीर्घजीवनको कामना गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाएर उपहार तथा दक्षिणा दिँदै सम्मान प्रकट गर्छन् ।

यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा निर्धारण गरिएको भएपनि दिनभर टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

भाइटीका रगतको नातामा मात्र सीमित छैन । दाजुभाइ वा दिदीबहिनी नभएकाहरूले समेत आत्मीय सम्बन्ध गाँसेका व्यक्तिसँग टीका लगाउने परम्परा छ । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पनि यसै दिन खुला गरिन्छ । मृत्युलाई समेत प्रेमले जित्न सक्ने मानवीय भावनाको प्रतीक बनेको भाइटीका नेपाली संस्कृति, पारिवारिक एकता र आत्मीयताको विशिष्ट पर्व हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट