विश्व शेर्पा संघको अध्यक्ष युरोपबाट बन्ने !

युरोपबाट नेतृत्व आउने, कुन देशले पाउने टुंगो हुन बाँकी !

दार्जिलिङ । भारतको दार्जिलिङ, सोनादा र लाभामा आयोजित तेस्रो विश्व शेर्पा सम्मेलन समापनतर्फ अघि बढ्दै गर्दा विश्व शेर्पा संघको नयाँ अध्यक्ष को बन्ला भन्ने चासो बढेको छ । यसपटक संघको अध्यक्षता युरोपबाट हुने निश्चित भए पनि युरोपको कुन देशले नेतृत्व पाउने भन्ने टुंगो लाग्न बाँकी छ ।

२५ देशका शेर्पा प्रतिनिधि सहभागी सम्मेलनमा भाषा, संस्कृति, धर्म, परम्परा र मौलिक पहिचानको संरक्षणसँगै विश्वभर छरिएर रहेका शेर्पा समुदायबीच एकता र सहकार्य विस्तारका विषयमा छलफल भएको छ । सांस्कृतिक झाँकी, परम्परागत गीत र शेब्रु नृत्यले सम्मेलनलाई उत्सवमय बनाएको छ । यद्यपि सम्मेलनको मुख्य चासो अब नयाँ नेतृत्व चयनमा केन्द्रित भएको छ ।

विश्व शेर्पा संघको नेतृत्व परिवर्तनलाई समुदायले सामान्य पद हस्तान्तरणका रूपमा मात्रै हेरेको छैन । विश्वभरका शेर्पाको प्रतिनिधित्व गर्दै आगामी दिनमा समुदायका साझा मुद्दालाई कसरी अघि बढाउने भन्ने दृष्टिले पनि नयाँ नेतृत्वलाई महत्त्वका साथ हेरिएको छ ।

संघका संस्थापक अध्यक्ष एडी लामा शेर्पा हुन् । उनले दुई कार्यकाल नेतृत्व सम्हालेपछि सिक्किमका थेण्डुप शेर्पा अध्यक्ष बनेका थिए । उनकै कार्यकालमा भारतमा तेस्रो विश्व शेर्पा सम्मेलन आयोजना भएको हो । थेण्डुप शेर्पाको यो अन्तिम कार्यकाल भएकाले सम्मेलनको बन्दसत्रबाट नयाँ अध्यक्षसहित कार्यसमिति चयन गरिनेछ ।

युरोपको कुन देशले पाउला नेतृत्व ?
यसअघि नेपालले दुई कार्यकाल र सिक्किमले नेतृत्व सम्हालेको पृष्ठभूमिमा यसपटक युरोपबाट अध्यक्ष चयन हुन लागेको हो । तर, युरोपका कुन देशबाट अध्यक्ष बन्ने भन्ने विषय भने अझै टुंगिएको छैन ।

विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने शेर्पा समुदायलाई समेट्ने उद्देश्यले स्थापित संघको नेतृत्व चयनमा यसपटक युरोपमा रहेका शेर्पा प्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण हुने देखिएको छ । अध्यक्षका सम्भावित उम्मेदवार, देशगत सहमति र प्रतिनिधिहरूबीचको छलफलले नेतृत्वको टुंगो लगाउनेछ ।

नयाँ अध्यक्षले शेर्पा भाषा, संस्कृति र धार्मिक सम्पदाको संरक्षण, विदेशमा हुर्किरहेको नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्ने अभियान तथा विश्वव्यापी शेर्पा सञ्जाललाई बलियो बनाउने जिम्मेवारी पाउनेछन् । त्यसैले अहिलेको चासो युरोपको कुन देशले अध्यक्षता पाउँछ भन्नेमा मात्रै सीमित छैन । नयाँ नेतृत्वले विश्वभरका शेर्पाका साझा मुद्दालाई कसरी अघि बढाउँछ भन्नेमा पनि केन्द्रित छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट