प्रधानमन्त्री शाहको दशै शुभकामना : भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट बनौं

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा व्याप्त भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्दै नागरिकलाई सरकारको उपस्थितिको अनुभूति दिलाउन सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।

विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले देशमा सकारात्मक परिवर्तन ल्याउन प्रतिबद्धता र इमानदार प्रयाससँगै सबैको साथ आवश्यक पर्ने बताएका हुन्। उनका अनुसार समाजमा रहेका विकृति र विसङ्गति हटाउन सोच परिवर्तन गरेर मात्र पुग्दैन, व्यवहारमा समेत सुधार ल्याउनुपर्छ।

प्रधानमन्त्री शाहले विजयादशमीलाई असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा व्याख्या गरेका छन्। यो पर्वले मानिसभित्र रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्यागेर असल आचरण अपनाउन प्रेरित गर्ने उनको भनाइ छ।

धार्मिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरलाई पराजित गरेको र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको सम्झनामा विजयादशमी मनाइने गरिन्छ।

प्रधानमन्त्री शाहले विविध भाषा, संस्कृति, भूगोल र समुदायमा विभाजित देखिने नेपाली समाजलाई विजयादशमीले आपसी सद्भाव र एकताको सम्बन्धमा जोड्ने विश्वास व्यक्त गरेका छन्। चाडपर्वले टाढिएका आफन्त, साथीभाइ र परिवारजनबीच पुनर्मिलन गराउँदै आत्मीयता प्रगाढ बनाउने पनि उनले उल्लेख गरेका छन्।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना दिँदै आफ्नो क्षमताअनुसार दसैँ मनाउन तथा एकअर्काप्रति प्रेम, सम्मान र सद्भाव कायम राख्न आग्रह गरेका छन्।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट