
विश्वकै सबैभन्दा मूल्यवान प्रविधि कम्पनीमध्ये एक एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ अहिले व्यक्तिगत सम्बन्धदेखि अमेरिकी राष्ट्रिय सुरक्षासम्म जोडिएको विवादमा तानिएका छन् । एक चिनियाँ व्यवसायीसँगको कथित प्रेमसम्बन्ध र उनीमार्फत अमेरिकी प्रविधिसम्बन्धी संवेदनशील सूचना चीन पुगेको हुन सक्ने आशंकापछि अमेरिकी गुप्तचर निकाय, संसद् र एनभिडियाको सञ्चालक समिति सक्रिय भएका छन् ।
अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्स र फाइनान्सियल टाइम्सका रिपोर्टअनुसार, ह्वाङको सम्बन्ध सिंगापुरस्थित क्लाउड तथा डाटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्वकार्यकारी एलिस ह्वाङसँग रहेको थियो । अमेरिकी गुप्तचर निकायले एलिसलाई चीनको राज्य सुरक्षा मन्त्रालय (एमएसएस) ले परिचालन गरेको हुन सक्ने आशंका गरेको छ । उनले ह्वाङसँगको सम्बन्धमार्फत एनभिडियाको सूचना संकलन गर्ने र चीनलाई अत्याधुनिक एआई चिप उपलब्ध गराउने वातावरण बनाउन खोजेको हुन सक्ने अमेरिकी अधिकारीहरूको दाबी छ । यद्यपि, कुन सूचना चीन पुगेको हो र ह्वाङलाई कथित जासुसी योजनाबारे जानकारी थियो वा थिएन भन्ने अझै स्पष्ट भएको छैन ।
विवाद चर्किएपछि नोभेम्बर ८ मा एनभिडियाको सञ्चालक समितिले स्वतन्त्र छानबिन सुरु गरेको घोषणा गरेको छ । स्वतन्त्र सञ्चालक र बाह्य कानुनी परामर्शदाताले अनुसन्धान गर्नेछन् । कम्पनीले अहिलेसम्म राष्ट्रिय सुरक्षा वा व्यावसायिक गोप्य सूचना चुहिएको विश्वास गर्ने आधार नरहेको जनाएको छ । ह्वाङले पनि अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
यसैबीच ह्वाङले नोभेम्बर ८ मै कर्मचारीलाई पठाएको सन्देशमार्फत श्रीमतीप्रति बेइमान भएको स्वीकार गर्दै पत्नी र सन्तानसँग माफी मागेका छन् । तर उनले कथित सम्बन्धमा रहेकी महिलाको नाम भने खुलाएका छैनन् ।
अमेरिकी संसद्को निगरानीमा ह्वाङ
अमेरिकी संसद्का तीनवटा प्रभावशाली रिपब्लिकन समितिका अध्यक्षले नोभेम्बर ४ मा संयुक्त पत्र पठाउँदै ह्वाङलाई नोभेम्बर १८ मा बन्द कोठाभित्र उपस्थित भएर स्पष्टीकरण दिन आग्रह गरेका छन् । विदेश मामिला समिति, चीनसम्बन्धी विशेष समिति र गुप्तचर समितिका अध्यक्षहरूले चीनको सम्भावित जासुसी गतिविधि तथा एनभिडियाको सुरक्षा प्रणालीबारे जवाफ खोजेका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाङलाई सम्मानित र इमानदार व्यक्ति भन्दै उनको बचाउ गरेका छन् । उता चीनले भने जासुसीको आरोपलाई आधारहीन भन्दै अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नोभेम्बर ९ मा यस्तो आरोप चीनलाई बदनाम गर्ने प्रयास भएको प्रतिक्रिया दिएका थिए ।
६३ वर्षीय ह्वाङले सन् १९९३ मा एनभिडिया स्थापना गरेका थिए । अहिले उनको नेतृत्वमा कम्पनी कृत्रिम बौद्धिकता (एआई) प्रविधिका लागि आवश्यक अत्याधुनिक जीपीयूको विश्वव्यापी प्रमुख आपूर्तिकर्ता बनेको छ । अमेरिकाले चीनको सैन्य तथा प्रविधि विकासमा प्रयोग हुन सक्ने अत्याधुनिक चिप निर्यातमा नियन्त्रण लगाइरहेका बेला यो प्रकरण थप संवेदनशील बनेको हो ।
मेगास्पिडमाथि पनि अमेरिकी निर्यात प्रतिबन्ध छल्दै चीनलाई उन्नत चिप उपलब्ध गराउन सहयोग गरेको आशंकामा अनुसन्धान भइरहेको छ । विवाद सार्वजनिक भएपछि मंगलवार एनभिडियाको सेयर पाँच प्रतिशतभन्दा बढी अर्थात ७ अर्ब अमेरिकी डलरभन्दा बढि घटेको छ । कम्पनीले भने ह्वाङले प्रमुख कार्यकारी अधिकृतका रूपमा निरन्तर काम गर्ने स्पष्ट पारेको छ ।
नेपाललाई डेढ अर्ब रुपैयाँ सहयोग गरेका ह्वाङ
यिनै ह्वाङको नेतृत्वमा रहेको एनभिडियाले रसुवा–भोटेकोशी बाढी तथा पहिरो पुनःस्थापनाका लागि १ करोड अमेरिकी डलर अर्थात् करिब १ अर्ब ५० करोड रुपैयाँ सहयोग गरेको थियो । सेप्टेम्बर १ मा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त सहयोगमा एनभिडियाका ५० भन्दा बढी नेपाली कर्मचारीको पहल महत्वपूर्ण थियो ।
चर्चामा वैवाहिक सम्बन्ध र सम्पत्ति बाँडफाँट
ह्वाङको व्यक्तिगत जीवन पनि अहिले उत्तिकै चर्चामा छ । ६३ वर्षीय ह्वाङ र उनकी श्रीमती लोरी ह्वाङको विवाह सन् १९८५ मा भएको थियो । दुवैको भेट अमेरिकाको ओरेगन स्टेट युनिभर्सिटीमा इन्जिनियरिङ अध्ययनका क्रममा भएको थियो । त्यतिबेला ह्वाङ १७ र लोरी १९ वर्षकी थिइन् । उनीहरूका दुई सन्तान म्याडिसन र स्पेन्सर छन् ।
ह्वाङले नोभेम्बर ८ मा एनभिडियाका कर्मचारीलाई पठाएको पत्रमा आफू श्रीमतीप्रति बेइमान भएको स्वीकार गरेका थिए । उनले आफ्नो व्यवहारले श्रीमती र सन्तानलाई चोट पुगेको भन्दै माफी मागेका छन् । परिवारले जीवनभर दिएको साथ र विश्वासको आफूले सम्मान गर्न नसकेको स्वीकार गर्दै उनले समयसँगै परिवारको विश्वास पुनः जित्ने आशा व्यक्त गरेका छन् । तर श्रीमती लोरीले यसबारे सार्वजनिक प्रतिक्रिया दिएकी छैनन् ।
यही घटनापछि ह्वाङको सम्भावित सम्बन्धविच्छेद र सम्पत्ति बाँडफाँटबारे चर्चा सुरु भएको हो । फोब्र्सले नोभेम्बर १० मा उनको सम्पत्ति करिब १ खर्ब ५५ अर्ब २० करोड डलर आकलन गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा वैवाहिक अवधिमा आर्जित सम्पत्ति सामान्यतः दम्पतीबीच बराबर बाँडिने भएकाले लोरीले ७५ देखि ८१ अर्ब डलरसम्म पाउन सक्ने अनुमान गरिएको छ । तर विवाहपूर्व वा विवाहपछिको सम्पत्ति सम्झौता छ कि छैन भन्ने सार्वजनिक भएको छैन ।












समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम