
काठमाडौं । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा माता कात्यायनीको विधिपूर्वक पूजाअर्चना गरिँदै छ । आजको दिन कात्यायनी भगवतीको पूजाआराधना गर्दा रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई मानिस प्रगतिको पथमा अघि बढ्ने धार्मिक विश्वास छ ।
शास्त्रअनुसार कत ऋषिका पुत्र कात्यको गोत्रमा जन्मिएका विश्वप्रसिद्ध महर्षि कात्यायनले भगवती पराम्बालाई आफ्नी पुत्रीको रूपमा पाउन लामो समयसम्म कठिन तपस्या गरेका थिए। भगवतीले उनको प्रार्थना स्वीकार गरी पुत्रीका रूपमा जन्म लिएकाले यिनको नाम ‘कात्यायनी’ रहन गएको हो । अर्को पौराणिक प्रसंगअनुसार, ब्रह्माजीबाट कुनै पनि देवता, दैत्य वा पुरुषबाट मारिनु नपरोस् भनी केवल स्त्रीको हातबाट मृत्यु हुने वरदान पाएका महिषासुरले त्रिलोकमा आतङ्क मच्चाएका थिए । देवता, शिव र विष्णुसमेत पराजित भएपछि ब्रह्मा, विष्णु र महेश्वर तीनै जनाले आफ्नो तेजको अंश दिएर महिषासुरको वध गर्न देवीलाई उत्पन्न गरेका थिए । महर्षि कात्यायनले सर्वप्रथम यिनको पूजा गरेका कारण पनि यिनलाई कात्यायनी भनिएको हो । आश्विन कृष्ण चतुर्दशीका दिन प्रकट भएकी देवीले आश्विन शुक्ल सप्तमी, अष्टमी र नवमी गरी तीन दिन कात्यायन ऋषिद्वारा पूजा ग्रहण गरी दशमीको दिन महिषासुरको वध गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
अमोघ फलदायिनी मानिने कात्यायनी देवीलाई ब्रजमण्डलकी अधिष्ठात्री देवीका रूपमा पनि लिइन्छ । द्वापर युगमा ब्रजका गोपिनीहरूले भगवान् श्रीकृष्णलाई पतिका रूपमा पाउन यिनै कात्यायनी देवीको पूजा यमुना नदीको किनारमा गरेका थिए । स्वर्णसमान चम्किलो वर्ण भएकी यी देवी चतुर्भुज स्वरूपकी छिन्। यिनको दाहिनेतर्फका हातहरू अभय र वरमुद्रामा छन् भने देब्रे हातहरूमा तरबार र कमलको पुष्प सुशोभित छ । यिनको वाहन सिंह हो । नवरात्रको छैटौँ दिन साधकले आफूलाई पूर्ण रूपमा समर्पण गरी पूजा गर्दा माताको सहज दर्शन मिल्ने र धर्म, अर्थ, काम तथा मोक्ष गरी चार वटै फल प्राप्त हुने विश्वास गरिन्छ। यस दिन साँझपख बेलको फेदमा बसेर जागरण गर्नु थप फलदायी मानिन्छ ।
बडादसैँको अवसरमा काठमाडौँ उपत्यकाभित्रका गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका प्रमुख शक्तिपीठ तथा दसैँघरहरूमा पूजाआराधना गर्ने भक्तजनहरूको उपस्थिति रहन्छ ।













समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?