
काठमाडौं । नयाँ वर्ष २०८३ को आगमनसँगै नेपालको सेयर बजारमा व्यापक सुधार र नयाँपन देखिने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लगानीकर्ताको सुविधा र बजारको आधुनिकीकरणका लागि पाँचवटा महत्त्वपूर्ण नीतिगत परिवर्तनहरू कार्यान्वयनमा ल्याउने अन्तिम तयारी गरेको छ।
यी परिवर्तनका लागि ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा गरिएको संशोधनलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वीकृत गरेसँगै नेप्सेले वैशाख ७ गतेदेखि यी नयाँ नियमहरू औपचारिक रूपमा लागू हुने जनाएको छ।
यी हुन् नयाँ नियम
आफ्टर मार्केट अर्डर’ को सुरुवात – नेपाली पुँजीबजारमा पहिलो पटक नियमित कारोबार समय (बिहान ११ देखि दिउँसो ३ बजे) बाहेक पनि सेयर खरिद-बिक्रीको अर्डर राख्न मिल्ने प्रणाली सुरु हुँदैछ। यो व्यवस्थाले विशेष गरी विदेशमा रहेका नेपाली र कार्यालय समयमा व्यस्त रहने लगानीकर्तालाई ठूलो राहत दिनेछ। यसको विस्तृत कार्यविधि नेप्सेले चाँडै सार्वजनिक गर्नेछ।
दैनिक मूल्य सीमामा वृद्धि – अब कुनै पनि कम्पनीको सेयर मूल्य एकै दिनमा १५ प्रतिशतसम्म घटबढ हुन पाउनेछ। हालसम्म यो सीमा १० प्रतिशत मात्रै थियो। यसले बजारलाई थप चलायमान बनाउन र माग तथा आपूर्तिका आधारमा मूल्य निर्धारण हुन मद्दत पुग्ने विश्वास गरिएको छ
कारोबारको लचकता – सेयर कारोबार भइरहँदा एक पटकमा हुने मूल्य परिवर्तनको सीमालाई २ प्रतिशतबाट बढाएर ३ प्रतिशत पुर्याइएको छ। यसले सेयरको मूल्य तय हुने प्रक्रिया लाई थप सहज र छिटो बनाउनेछ।
प्रि-ओपन सेसनमा ५ प्रतिशतको सीमा – बजार खुल्नुअघि हुने ‘प्रि-ओपन सेसन’ (बिहान १०:३० देखि १०:४५ सम्म) मा अब सेयर मूल्य ५ प्रतिशतसम्म तलमाथि हुन पाउनेछ। यसअघि यो सीमा २ प्रतिशत मात्रै रहेकाले वास्तविक मूल्य तय हुन कठिन हुने गरेको थियो।
सर्किट ब्रेक प्रणालीमा परिमार्जन – समग्र बजारमा लाग्ने सर्किट ब्रेक प्रणाली पनि पुनर्संरचना हुँदैछ। नयाँ व्यवस्था अनुसार अब दुई तहको सर्किट प्रणाली लागू हुनेछ। बजार ५ प्रतिशत घटबढ भएमा पहिलो सर्किट ब्रेक (१५ मिनेट कारोबार स्थगन) बजार ८ प्रतिशत घटबढ भएमा दोस्रो सर्किट ब्रेक (सो दिनको लागि सम्पूर्ण कारोबार बन्द)
यो व्यवस्था हालको ४ प्रतिशत , ५ प्रतिशत र ६ प्रतिशत चरणगत सर्किट प्रणालीलाई प्रतिस्थापन गर्नेछ।
यी परिवर्तनहरूले पुँजीबजारलाई अझ आधुनिक, लचिलो र लगानीमैत्री बनाउनेछ । साथै, मूल्य निर्धारण प्रक्रिया सुधार हुने र विदेशी तथा घरेलु लगानीकर्ताको सहभागिता बढ्ने अपेक्षा गरिएको छ। तर, नयाँ प्रणाली कार्यान्वयनसँगै लगानीकर्तालाई जोखिम व्यवस्थापन र बजार व्यवहार बुझ्न थप सचेत हुनुपर्ने देखिन्छ । नयाँ वर्षसँगै लागू हुने यी व्यवस्थाहरूले नेपालको सेयर बजारलाई नयाँ चरणमा प्रवेश गराउने विश्वास गरिएको छ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू