
सुर्खेत । तीन वर्षअघिसम्म वीरेन्द्रनगर नगरपालिका–७ की ६६ वर्षीया मन्धरी नेपालीका लागि सामान्य उपचारसमेत सहज थिएन । अपाङ्गता भएकी उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिइन् । बिहान–बेलुकाको छाक टार्नै कठिन हुने आर्थिक अवस्थाका कारण नियमित स्वास्थ्य परीक्षण र औषधि खरिद गर्नु उनका लागि असम्भव जस्तै थियो ।
वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० देखि ‘अति विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम’ सञ्चालनमा ल्याएपछि उनको जीवनमा सकारात्मक परिवर्तन आएको छ । नगरपालिकाले परिवारका पाँच सदस्यको स्वास्थ्य बीमा गरिदिएपछि उनी अहिले निर्धक्क भएर नियमित स्वास्थ्य परीक्षण गराउँछिन् र आवश्यक औषधि पनि सहजै पाउँछिन् ।
मन्धरीले भनिन्, ‘पहिले नियमित जाँच गराएर औषधि ल्याउने पैसाको जहिले पनि अभाव हुन्थ्यो, नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिएपछि उपचार गर्न धेरै सहज भएको छ ।’ नगरपालिकाले सुरु गरेको यो कार्यक्रमबाट अति विपन्न र गरीबलाई स्वास्थ्य सेवा लिन सहज भएको छ । नगरपालिकाका अनुसार यो कार्यक्रमबाट ३० जनाभन्दा धेरै विपन्नले लाभ लिएका छन् । बिमा गर्दा सुरुमा लाग्ने रु तीन हजार ५०० नगरपालिकाले नै तिरिदिन्छ ।
नगरपालिका प्रमुख मोहनमाया ढकालले नगरभित्रका महिला, बालबालिका, विपन्न, सीमान्तकृतलगायतका नागरिकको स्वास्थ्य, शिक्षा र सहज सेवालाई प्राथमिकतामा राखिएको बताइन् । नगरपालिकाले विपन्न, ज्येष्ठ नागरिक र दीर्घ रोगीका लागि निःशुल्क स्वास्थ्य बिमा, ज्येष्ठ नागरिक तथा गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सञ्चालनलगायतका कार्यक्रम सुरु गरेको छ ।
नगरपालिकाको कार्यक्रमले वीरेन्द्रनगर नगरपालिका–५ कालिका मन्दिरकी ३३ वर्षीया लक्ष्मी नेपालीलाई पनि निकै सहज भएको छ । आर्थिक अवस्था कमजोर भएकी नेपालीले नगरपालिकाले सञ्चालन गरेको महिला स्वरोजगार कार्यक्रमअन्तर्गत अटो रिक्सा चलाउने तालिम दिएपछि अहिले उनको जीवन फेरिएको छ । पहिले घरको काममै बित्ने उनको दैनिक अहिले अटोको धपेडीमा बित्न थालेको छ ।
लक्ष्मी अहिले श्रीमान्सँगै अटोरिक्सा चलाएर दैनिक रु तीन हजारभन्दा बढीको कारोबार गर्छिन् । उनी भन्छिन्, ‘सबै खर्च कटाएर दैनिक रु एक हजार त बचत गर्छु, आफैँले कमाउन थालेपछि आत्मविश्वास बढेको छ ।’ वीरेन्द्रनगर नगरपालिकाले चार वर्षभित्र प्रत्येक घरका कम्तीमा एक जना महिलालाई स्वरोजगार बनाउने उद्देश्यले छ वर्षअघि यो कार्यक्रम ल्याएको थियो ।
‘समृद्ध वीरेन्द्रनगरको आधार : एक घर एक महिला रोजगार’ कार्यक्रमअन्तर्गत महिलालाई स्वरोजगार बनाउनका लागि व्यवसायका आधारमा ५० प्रतिशतविना ब्याजको ऋण र ५० प्रतिशत अनुदान दिने गरिएको छ । नगरपालिकाले अनुदानमा तालिम लिएका महिलामध्ये हाल ३६ जना महिलाले अटो चलाइरहेका छन् । महिला स्वरोजगार कार्यक्रमअन्तर्गत धेरै महिला विभिन्न रोजगारमूलक काममा आवद्ध भएको प्रमुख ढकालले जानकारी दिइन् ।
कार्यक्रमबाट लाभान्वित हुनेमा वीरेन्द्रनगर–२ की ४५ वर्षीया सीता गौतम पनि छन् । उनी चार वर्षदेखि कृषि पेसामा आबद्ध छन् । नगरपालिकाले ५० प्रतिशत अनुदानमा बीउ टनेल उपलब्ध गराएपछि उनी यसमा जोडिएकी हुन् । नगरपालिकाले बोरिङ पनि दिएपछि खानेपानी र सिँचाइ गर्न सजिलो भएको उनको भनाइ छ । उनले भनिन्, ‘अहिले तरकारीखेतीबाट वार्षिक रुपमा रु दुईदेखि रु तीन लाखसम्म आम्दानी हुने गरेको छ ।’
नगरपालिकाका प्रमुख ढकालले ‘छोरी हुनुमा गर्व गर’ भन्ने नारासहित बालविवाह, बहुविवाह, बालश्रम मुक्त नगर जस्ता अभियान सञ्चालनमा ल्याएकी छन् । हाल नगरपालिकामा महिलाको स्वास्थ्य, आमा सुरक्षा कार्यक्रम, छोरी जन्म बचत खाता, महिला स्वरोजगार, मेयरसँग महिला किसानलगायत दर्जनभन्दा बढी महिलासम्बन्धी कार्यक्रम सञ्चालनमा छन् ।
छोरी बचत खाताअन्तर्गत वीरेन्द्रनगरमा जन्मिएका एक हजारभन्दा बढी छोरीहरुको बैंक खाता खोलिएको छ । साथै गर्भवती तथा सुत्केरीको स्वास्थ्य सुरक्षाका लागि ‘हेलो गर्भवती आमा’ कार्यक्रम सञ्चालन भइरहेको छ । जसअन्तर्गत दक्ष स्वास्थ्यकर्मीहरूले फोनमार्फत परामर्श, स्वास्थ्य सल्लाह र सुत्केरी पूर्वरपछिको जानकारी घरमै उपलब्ध गराउँछन् ।
महिलाका लागि निःशुल्क स्यानिटरी प्याड, गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क भिडियो एक्सरे कार्यक्रम पनि सञ्चालन गरिएको छ । यी कार्यक्रम एकदमै प्रभावकारी भएको प्रमख ढकालको भनाइ छ । साथै नगरपालिकाले पाँच शय्याको महिला तथा बालबालिका नगर अस्पताल सञ्चालन गरेको छ । उक्त अस्पताल कर्णाली प्रदेशमै मातृ शिशु स्वास्थ्य सुरक्षाका लागि प्रभावकारी सेवा प्रदान गर्न अतिसहज र उपयोगी भइरहेको स्थानीयको भनाइ छ ।
नगरमा सुधारको सुरुवात
वीरेन्द्रनगरको नेतृत्वमा आफू आएपछि नगर सुधारका लागि धेरै कामको सुरुवात गरेको ढकाल बताउँछिन् । वीरेन्द्रनगरलाई ‘शैक्षिक हब’ को रूपमा विकास गर्न नगरपालिकाले १० वर्षे शैक्षिक रणनीति तयार पारेको छ ।
विसं २०९० सम्म प्रदेश राजधानीभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले महसुस गर्ने गरी शैक्षिक सुधार गरिने उनको भनाइ छ । उनका अनुसार पाठ्यक्रमको विकास, शिक्षक व्यवस्थापन, सामुदायिक विद्यालय सबलीकरण, अनौपचारिक शिक्षा, दूर शिक्षा तथा खुल्ला सिकाइ, गुणस्तरीय सार्वजनिक शिक्षा, शिक्षामा सूचनाप्रविधि र समावेशी शिक्षालाई उक्त शिक्षा मोडेलले जोड्नेछ ।
‘उज्यालो र सुरक्षित वीरेन्द्रनगर’ अभियान अन्तर्गत चोक र मुख्य सडकमा हाई मास लाइट र सिसीटिभी क्यामेरा जडान भएका छन् । नगरपालिकाले मुख्यबजारमा फुटपाथ खाली गराएको छ । सार्वजनिक जग्गाको संरक्षणमा कडाइका साथ लागेको उनी बताउँछिन् । वीरेन्द्रनगरमा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न अघि सारिएको भेरी लिफ्ट खानेपानी आयोजनाको अहिले धमाधम काम भएको छ ।
यी योजना सम्पन्न भए वीरेन्द्रनगरवासीले भोगिरहेको खानेपानी सङ्कटको समस्या समाधान हुने भन्दै उनले आगामी ५० वर्षसम्म पानीको अभाव झेल्न नपर्ने बताइन् । बढ्दै गएको सहरीकरणका कारण नगरपालिकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ ।
प्रमुख ढकालका अनुसार नगरपालिकाको फोहोरमैला दिगो व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफिल साइट निर्माण गरिएको छ भने फोहरबाट मोहोर कार्यक्रम सञ्चालनमा छ । वीरेन्द्रनगर वातावरण र दिगो व्यवस्थापनमा देशकै उत्कृष्ट पालिकाको रूपमा तीन वर्ष अघि नगरपालिका महासंघबाट पुरस्कृत भएको थियो । फोहोर व्यवस्थापनबाट वार्षिक रु ३० लाख राजस्व सङ्कलन हुने गरेको छ ।
ठूला योजनामा भएन काम
नगरप्रमुख ढकालको नेतृत्वले नगरलाई समृद्ध बनाउनका लागि विभिन्न योजना अगाडि सारेपनि कार्यान्वयनमा अझै समस्या देखिएको स्थानीयको गुनासो छ । वीरेन्द्रनगर–१ का लोकबहादुर गुरुङले नगरभित्रको फोहर व्यवस्थापन नहुँदा सबैभन्दा ठूलो समस्या आफ्नो समुदायले भोगेको बताए ।
‘अहिलेसम्म ल्याण्डफिल साइट बनेको छैन, फोहरको दुर्गन्धले घरमा बस्न नसक्ने अवस्था छ, स्वास्थ्यमा समस्या देखिन थालेको छ’, उनले भने । लामो समयदेखि फोहर व्यवस्थापन गर्छौैँ भनी प्रतिबद्धता जनाए पनि काम भने नगरेको गुरुङको गुनासो छ ।
फोहर व्यवस्थापन हुन नसक्नुको समस्या ढल निकास प्रणाली पनि हो । वर्षायाममा निकास नहुँदा वीरेन्द्रनगरको तल्लो क्षेत्रका बस्ती डुबानमा पर्ने गरेका छन् । स्थानीय सुरेन्द्र कार्कीले सडक तथा सहरी पूर्वाधारतर्फ पनि उल्लेखनीय सुधार नभएको गुनासो गरे । ‘भित्री सडकको अवस्था नाजुक छ, बजार क्षेत्रमा पार्किङ व्यवस्थापन स्पष्ट नहुँदा जाम बढ्दो छ भने सहरी सौन्दर्यकरणका काम पनि अधुरै छन्’, उनले भने ।
नगरवासीले वर्षौँदेखि भोग्दै आएको मुख्य समस्या खानेपानीको अभाव हो । नगरपालिकाले भेरी नदीको पानी पम्पिङ गरी वीरेन्द्रनगर उपत्यकामा ल्याउने योजना अघि सारेको करिब एक दशकपछि अहिले निर्माण कार्य सुरु भएको छ । तर, बढ्दो जनसङ्ख्याका कारण विशेषगरी खडेरीको समयमा नगर क्षेत्रमा खानेपानीको समस्या झन् चर्किने गरेको छ ।
वीरेन्द्रनगर–७ की इन्दिरा केसीका अनुसार नगरका कतिपय वडामा अझै नियमित रूपमा खानेपानी उपलब्ध हुँदैन । पर्याप्त पानी नआउँदा ट्याङ्करको भर पर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । नगरपालिकाले योजना घोषणा गरे पनि तिनको स्पष्ट प्राथमिकता, समय सीमा र कार्यान्वयनको ठोस ढाँचा नहुँदा अपेक्षित परिणाम हासिल हुन नसकेको नगरवासीको गुनासो छ ।












समाचार
विश्वकपको सेमिफाइनल समीकरण पूरा : उपाधि होडमा सबै पूर्व विजेता
खुद्रा काममा मात्र नअल्झिई स्वास्थ्यको प्रणालीगत सुधारमा लाग्न सरकारलाई प्रदीप पौडेलको सुझाव
बाँझो जग्गा सदुपयोग गर्न चितवनको माडी नगरपालिका ‘भूमि बैंक’ अवधारणा
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
ग्रामीण पर्यटन वर्षमार्फत बन्दीपुरको प्रवर्द्धन गर्ने लक्ष्य
कर्णाली प्रदेशको विद्युत सेवा भरपर्दो र प्रभावकारी बनाउन यान्त्रिक क्रेन उपलब्ध गराइने
सुकुम्वासी समस्या समाधानमा सरकार गम्भीर : गृहमन्त्री गुरुङ
गणेश नेपाली मृत्यु प्रकरणमा सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति
विश्वक फुटबल : अर्जेन्टिना सेमिफाइनमा, स्विट्जरल्यान्डको यात्रा समाप्त