
काठमाडौं । मुलुकमा रासायनिक मल उत्पादन गर्ने कारखाना नभएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत अनुदानमा अन्तर्राष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्याइने गरिएको छ । किसानले खुला सीमापारिका बजारमा सहज रूपमा रासायनिक मल पाउने तथा अवैधानिक व्यापारबाट पनि भित्रिने गरेकाले सरकारले विसं २०६५ चैत १२ गतेदेखि अनुदानमा अन्तर्राष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्याउने निर्णय लिएको थियो ।
कृषि सामग्री कम्पनी लिमिटेडका सूचना अधिकारी पुण्यप्रसाद उपाध्यायका अनुसार यस वर्षका लागि मल मौज्दात रहेको बताउँदै थप मल आयात हुने प्रतियामा रहेकाले अभाव नहुने जानकारी दिए । जैविक (कम्पोष्ट) मल ठुलो मात्रामा उत्पादन भएर सहज ढुवानी गर्नसके किसानले थप प्रतिफल प्राप्त गर्न सक्ने उनले बताए ।
“सरकारी प्रयासमा एकपटक जैविक मल (भर्मिक कम्पोष्ट) उत्पादन र वितरणको प्रयास भएको थियो तर त्यो सफल भएन”, उपाध्यायले भने, “ठुलो मात्रामा नियमित माग हुने भएकाले निजी क्षेत्रबाट उत्पादन हुने जैविक मल प्रयोगमा आउनुलाई सकारात्मक मान्न सकिन्छ । किसानका मागका आधारमा यसको उत्पादन र ढुवानी भने भएको छैन ।”
कम्पनीका अनुसार मुलुकमा हाल २६ हजार मेट्रिक टन युरिया मल मौज्दात छ भने ३० हजार मेट्रिक टन युरिया आउने प्रक्रियामा छ । डिएपी मल १२ हजार मेट्रिक टन मौज्दत रहेको जनाउँदै कम्पनीका सूचना अधिकारी उपाध्यायले थप ३५ हजार आयात गरिएको बताए । उनका अनुसार पोटास मल सात हजार मेट्रिक टन मौज्दात छ ।
कृषिप्रधान नेपालमा रासायनिक मलको बढ्दो मागका कारण बर्सेनि आयात बढाउनुपर्ने बाध्यता रहनुका साथै रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति खेर गइरहेको उनको भनाइ छ । वैदेशिक व्यापारघाटालाई सन्तुलित तुल्याउन सरकारले नीतिगत व्यवस्था गरेकाले निजी क्षेत्रको लगानीमा स्वदेशमै जैविक मल उत्पादन सुरु गरिएको उनले जानकारी दिए ।
धनुषाको धनुषाधाम नगरपालिका–३ स्थित ‘आरोह फर्टिलाइजर्स प्रालि’ले किसानको जैविक मलको मागलाई ध्यानमा राखी गत आइतबारदेखि आफ्नो उत्पादनलाई बजारमा पठाउन थालेको छ ।
स्वदेशका अधिकांश कच्चा पदार्थको प्रयोगबाट जैविक दानेदार र तरल मल उत्पादन गरेको प्रालिका कार्यकारी अध्यक्ष शैलेन्द्रशम्शेर राणाले जानकारी दिए । उनका अनुसार कम्पनीले ‘हरियो नेपालतर्फ एक पाइला’ भन्ने अवधारणाअनुरुप वातावरणमैत्री र माटोमा उर्वराशक्ति बढाउने मल बजारमा पठाउन थालेको हो ।
हिमाल, पहाड र तराई क्षेत्रका विभिन्न ठाउँका माटोको परीक्षणपछि उपयुक्त प्रमाणित भएसँगै मल बजार पठाउन थालिएको राणाले बताए । रासायनिक मलको जथाभाबी प्रयोगले जमिनको उर्वराशक्ति नष्ट हुने मात्र नभई मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परेको भन्दै मलमा हुने परनिर्भरतालाई घटाउन जैविक मल उत्पादन गरिएको उनको भनाइ छ ।
प्रालिका प्रबन्ध निर्देशक आङकामी लामाले उद्योगले कच्चा पदार्थ सहज उपलब्धता भएसँगै मलको मागलाई दृष्टिगत गरी वार्षिक रूपमा ३० हजार मेट्रिक टनसम्म जैविक मल उत्पादन गर्ने योजना बनाएको जानकारी दिए । उत्पादित जैविक मलको प्रयोगले जमिनको उर्वराशक्ति पाँच वर्षमा पुरानै अवस्थामा पुर्याउने, कृषि उत्पादन बढाउने र उत्पादित वस्तु सम्पूर्ण हिसाबले अर्ग्यानिक हुने उनले दाबी गरे ।
जैविक मलको प्रयोगले माटोमा पोषण तत्त्व बढाउनाका साथै माटोका प्राकृतिक गुण जोगाउन सहयोग पुग्ने प्रबन्ध निर्देशक लामाले बताए । उनका अनुसार कम्पनीले हाल छ किसिमका झोल मल, चार किसिमका दानेदार मल र दुई किसिमका जैविक किटनाशक औषधि उत्पादन गरिरहेको छ ।
कम्पनीका कार्यकारी निर्देशक सवार्थशम्शेर जबराले नेपाली कृषकले बालीनाली लगाउने मनसुनमा सधैँ रासायनिक महलको हाहाकार भोग्नुपरेको घटनालाई सम्बोधन गर्न आधुनिक प्रविधिबाट मुलुकको माटो र हावापानी सुहाउँदो बायो अर्ग्यानिक (जैविक) मल उत्पादनमा जोड दिइएको बताए ।
उनका अनुसार जैविक मलका लागि आवश्यक मुख्य कच्चा पदार्थ गाईवस्तुको गोबर भएकाले उद्योगले स्थानीय सङ्कलनका अतिरिक्त सिरहा, सर्लाही, महोत्तरीका साथै काभ्रे, भक्तपुर, काठमाडौँलगायत स्थानबाट गोबर सङ्कलन गर्दै आएको छ । जैविक मलका लागि गोबर बेचेर पशुपालक किसान पनि लाभान्वित भएका उनले बताए ।
प्रालिले बायो गेडा मल प्रतिकिलो रु ७० र झोल मल प्रतिलिटर रु छ सय ५० बजार मूल्य तोकिएको छ । “दानेदार मल एक कठ्ठा जमिनका लागि एक बोरा चाहिन्छ भने एक लिटर तरल मलले पहाडमा आठ रोपनी र तराईमा १२ कठ्ठामा पर्याप्त हुन्छ”, कार्यकारी निर्देशक जबराले भने ।
बायो मल धान, मकै, गहुँ र तरकारीका अतिरिक्त स्याउ, चिया, उखु, अलैँची, केरा, किबी, तर्बुजाका लागि फलदायी हुने उनको दाबी छ । यसको प्रयोगबाट उत्पादित वस्तु अर्ग्यानिक भएकाले लामो समयसम्म टिक्ने कम्पनीले जनाएको छ ।
उद्योगका लागि आवश्यक ९० प्रतिशत कच्चा पदार्थ मुलुकमा उपलब्ध हुन्छ भने विशेष प्रकारको माटोसहितका केही कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको कार्यकारी निर्देशक जबराले बताए ।
बजारमा आउनुअघि मुस्ताङका स्याउ बगानदेखि इलामको चिया र अलैँचीका लागि माग भइसकेको प्रालिले जनाएको छ । किटनाशक औषधिको अन्धाधुन्ध प्रयोग र अत्यधिक रासायनिक मलको प्रयोगबाट उत्पादित वस्तु खानाले क्यान्सरलगायत घातक रोग निम्त्याएको पाइन्छ ।
विभिन्न बायो उद्योगबाट खेर गइरहेको पदार्थ मल उत्पादनमा कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ । कृषि तथा पशुपक्षी मन्त्रालयका पूर्वसचिव डा योगेन्द्र कार्कीले जैविक मलको प्रयोगले माटो नबिगार्ने र उर्वराशक्ति बढाउने बताए । “यो मलको प्रयोगले साधारण अवस्थामा कृषि उत्पादन वृद्धि हुन्छ । जथाभाबी रासायनिक मलको प्रयोगबाट उर्वराशक्ति गुमेको माटोलाई पहिलेकै अवस्थामा पुर्याउन सहयोग हुन्छ”, उनले भने ।












समाचार
Abiral Rai -representative of new crop of Nepali climbers -summits Kilimanjaro in Africa
किली पेम्बा शेर्पाको अन्तिम दाहसंस्कार भोलि शुक्रबार बिहान टेकुमा
थुलुङ राई समुदायका पहिलो IFMGA माउन्टेन गाइड तथा पहिलो सगरमाथा आरोही अबिरल राईद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमनजारो सफल आरोहण
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्ता
‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’
निर्यातभन्दा आयात पाँचगुणा बढी
काठमाडौँ महानगरले गर्यो स्रोत शिक्षकसँग कार्यसम्पादन करार सम्झौता
बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए
मन्त्री श्रेष्ठका सल्लाहकारमा चार विज्ञ नियुक्त