भदौका लागि पनि घट्यो वाणिज्य बैंकहरूको औषत ब्याजदर, कुन बैंकको कति ?

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकिङ प्रणालीमा उच्च तरलता कायम रहेका कारण साउनको तुलनामा भदौ महिनामा पनि निक्षेपको औसत ब्याजदरमा थप गिरावट आएको छ ।

भदौ महिना व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर साउनको ४.१६७५ प्रतिशतविन्दुबाट ०.०३१५ प्रतिशतविन्दु घटेर ४.१३६ प्रतिशतविन्दुमा झरेको छ भने संस्थागत निक्षेपको औसत दर पनि ३.११६ प्रतिशतविन्दुबाट घटेर ३.०८१ प्रतिशतविन्दुमा झरेको छ ।

५ बैंकले घटाए ब्याजदर

भदौ महिनाका लागि कुल ५ वटा बैंकहरूले ब्याजदर घटाएका छन्। सिद्धार्थ बैंकले व्यक्तिगततर्फ सबैभन्दा बढी ०.२९ प्रतिशतविन्दु र संस्थागततर्फ ०.२ प्रतिशतविन्दुले ब्याजदर कटौती गरी नयाँ दर क्रमशः ३.७६ प्रतिशत र ३.०५ प्रतिशत कायम गरेको छ। यस्तै नेपाल बैंकले व्यक्तिगतमा ०.१ प्रतिशतविन्दु र संस्थागतमा ०.५ प्रतिशतविन्दु घटाएर क्रमशः ४.१५ प्रतिशत र ३.५ प्रशित कायम गरेको छ। सिटिजन्स बैंकले व्यक्तिगत दर ३.८५ प्रतिशत, कुमारी बैंकले ३.७६ प्रतिशत, र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८ प्रतिशत कायम हुने गरी ब्याजदर घटाएका छन्।

१५ बैंकको ब्याजदर स्थिर

नबिल बैंक र प्रभु बैंकले अधिकतम ४.५५ प्रतिशत व्यक्तिगत ब्याजदरसहित शीर्ष स्थान ओगटेका छन्। त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य, र ग्लोबल आइएमई बैंकसहित कुल १५ वटा बैंकहरूले साउन महिनाकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन्। कर्जाको मागमा आएको सुस्तता र बैंकहरूमा रकम थुप्रिने क्रम जारी रहेकाले निक्षेपको लागत घटाउन बैंकहरूले ब्याजदरमा कटौतीको रणनीतिलाई नै निरन्तरता दिएका हुन्।

फेसबुक प्रतिक्रिया