एचआईडीसीएलको नाफामा पहिरो, इपीएस सहित अन्य सूचक कस्ता ?

काठमाडौं । सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को नाफामा उच्च गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार नाफामा भारी गिरावट देखिएको हो ।

समीक्षा अवधिमा कम्पनीले ६७ करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २७.२९ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ९३ करोड ४३ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्ष १ अर्ब ४६ करोड ३० लाख रुपैयाँ कुल राजस्व संकलन गरेको कम्पनीले गत वर्ष जम्मा १ अर्ब ३ करोड ४३ लाख रुपैयाँ मात्र आम्दानी गर्न सफल भएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूमा राखिएको निक्षेपबाट प्राप्त हुने वित्तीय आम्दानी १ अर्ब ३९ करोड ५० लाख रुपैयाँबाट घटेर ९९ करोड १० लाख रुपैयाँमा झरेको छ ।

२४ अर्ब ९२ करोड ८२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष घटेर ३ अर्ब १५ करोड २५ लाख रुपैयाँमा खुम्चिएको छ । नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि घटेको छ । अघिल्लो वर्ष ३.८० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी हाल २.७३ रुपैयाँमा झरेको छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ११४.१३ रुपैयाँबाट सामान्य घटेर ११२.६५ रुपैयाँ कायम भएको छ ।

नाफा घटे पनि कम्पनीले जलविद्युत आयोजनाहरूमा गर्ने लगानी र कर्जा प्रवाहलाई भने विस्तार गरेको छ । अघिल्लो वर्ष ७ अर्ब ३५ करोड २९ लाख रुपैयाँ मात्र रहेको लोन टु पावर प्रोजेक्ट शीर्षकको कर्जा प्रवाह गत वर्षको असार मसान्तसम्म आइपुग्दा ८ अर्ब ४५ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

फेसबुक प्रतिक्रिया