
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले काङ्ग्रेसका दुवै सदनमाथिको नियन्त्रण कायम राखे प्रत्येक वयस्क अमेरिकी नागरिकलाई पाँच हजार अमेरिकी डलर दिने वाचा गरेका छन् ।
डालसमा आयोजित रिपब्लिकन मध्यावधि सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रस्तावित रकमलाई ‘ट्रम्प लाभांश’ को संज्ञा दिँदै रिपब्लिकन विजयी भए नागरिकले त्यसको प्रत्यक्ष लाभ पाउने दाबी गरे । “रिपब्लिकनहरू विजयी भएमा तपाईंहरू पनि हामीसँगै विजयी हुनुहुनेछ र पाँच हजार डलर पाउनुहुनेछ । यसलाई ट्रम्प लाभांश भनिन्छ”, उनले भने ।
नोभेम्बर ३ को निर्वाचनमा रिपब्लिकनलाई जिताउन समर्थकलाई आग्रह गर्दै उनले आफू मतपत्रमा रहेको कल्पना गरेर मतदान गर्न आह्वान गरे । हालका जनमत सर्वेक्षणमा उनको स्वीकृति दर ३० प्रतिशतको आसपास रहेको र उच्च मूल्यवृद्धि तथा इरानविरुद्धको युद्धप्रति मतदाताको असन्तुष्टि बढिरहेको बताइएको छ ।
राष्ट्रपति ट्रम्पले इरानविरुद्धको युद्धको बचाउ गर्दै अमेरिका विजयी हुने र त्यससँगै तेलको मूल्य अझ घट्ने दाबी गरे । खाद्यान्नलगायत अधिकांश वस्तुको मूल्य घटिरहेको उल्लेख गर्दै उनले रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलघाँटीलाई आफ्नै नाममा राख्न सकिने सुझावसमेत दिए ।
उनले डेमोक्रेटहरू विजयी भए अमेरिका साम्यवादी देश बन्ने दाबी गर्दै आगामी निर्वाचनले देशको आगामी २५० वर्षको दिशा निर्धारण गर्ने बताए ।
हालको प्रक्षेपणअनुसार डेमोक्रेटहरूले प्रतिनिधिसभामा २३० र रिपब्लिकनहरूले २०५ सिट तथा सिनेटमा डेमोक्रेटहरूले ५१ र रिपब्लिकनहरूले ४९ सिट जित्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा राष्ट्रपति ट्रम्पप्रति वफादार मतदातालाई परिचालन गर्नुका साथै उनको कार्यकालप्रति असन्तुष्ट स्वतन्त्र मतदातालाई पार्टीबाट टाढा जान नदिनु रिपब्लिकनका लागि मुख्य चुनौती बनेको छ ।
अमेरिकन एयरलाइन्स सेन्टरमा भएको सम्मेलनमा रिपब्लिकनहरूले कर कटौती, आप्रवासन नियन्त्रण, उत्पादन वृद्धि र औषधिको मूल्य घटाउने विषयलाई प्राथमिकतामा राखेका थिए । सम्मेलनमा डेमोक्रेटिक सिनेटर जोन फेटरम्यानको भिडियो सम्बोधनसमेत समावेश गरिएको थियो ।
राजनीतिक चुनौतीका बाबजुद सम्मेलनको वातावरण उत्सवमय देखिएको थियो । राष्ट्रपति ट्रम्पका समर्थकले उनको नाम र तस्बिर तथा अमेरिकी झण्डा अङ्कित पोसाक लगाएका थिए । राष्ट्रिय गानका क्रममा ‘युएसए ! युएसए !’ को नारा गुञ्जिएको थियो ।
मिशिगनबाट सहभागी ७७ वर्षीया कन्जरभेटिभ पोडकास्टर सुसान कोकिन्डाले रिपब्लिकनहरूले राम्रो प्रदर्शन गर्ने अपेक्षा व्यक्त गर्दै भनिन्, “डोनाल्ड ट्रम्प परम्परागत राष्ट्रपति हुनुहुन्न र उनले रिपब्लिकन पार्टीलाई पुनः आकार दिइरहनुभएको छ ।”
मध्यावधि निर्वाचनका लागि आयोजना गरिएको यो पहिलो रिपब्लिकन राष्ट्रिय सम्मेलन हो । औपचारिक पार्टीगत निर्णय वा उम्मेदवार मनोनयनभन्दा पनि राष्ट्रपति ट्रम्पको कार्यकाल र रिपब्लिकन उम्मेदवारको प्रचारमा केन्द्रित दुई रातको चुनावी कार्यक्रमका रूपमा सम्मेलन आयोजना गरिएको छ ।












समाचार
पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
उद्योगमन्त्री साहले लिए शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने
बाढीले क्षति पुर्याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान
बलर चम्किदा नेपाल एसीसी प्रिमियर कपकाे फाइनमा
उद्योगी–व्यवसायीलाई लाञ्छित गर्ने उद्योगमन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक: महासंघ
कालिञ्चोक दर्शनले बोनस सेयर वितरणपश्चात हकप्रद जारी गर्ने
झण्डै १४ अंकले घट्यो नेप्से, कारोबार ४ अर्बमा सिमित
हतुवागढी खैराङमा अदुवा खेती विस्तार