
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बाढी पहिरोका कारण प्रभावित जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचना पुनःस्थापनाको काम तीव्र रूपमा अगाडि बढाउँदै विद्युत आपूर्तिलाई व्यवस्थित एवम् सन्तुलित बनाउने कार्यमा अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण केही आयोजना उत्पादन गर्न सक्ने अवस्थामा रहे पनि प्रसारण संरचनामा क्षति पुगेका कारण विद्युत् प्रणालीमा जोडिन सकेका छैनन् ।
चार दिनको वर्षापछि आएको बाढीले कुश्मा–दाना २२० केभी प्रसारण लाइनमा क्षति पुग्दा ७ वटा जलविद्युत् आयोजनाको कुल १९०.४ मेगावाट विद्युत् प्रसारण प्रभावित भएको छ । प्रभावित आयोजनामा निलगिरि–१ (३८ मेगावाट), निलगिरि–२ (२१ मेगावाट), मिस्त्री (४२ मेगावाट), थापाखोला (१३.६ मेगावाट), घारखोला (१४.८ मेगावाट), रेलेखोला (६ मेगावाट) र घलेम्दी (५ मेगावाट) रहेका छन् । प्रसारण संरचनाको क्षति मर्मत गरी यी आयोजनाको विद्युत् पुनःप्रवाह गर्न केही समय लाग्ने अनुमान गरिएको छ ।
कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको दाना–कुश्मा २२० केभी प्रसारण लाइनका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध रहेकाले प्रभावित संरचनाको विस्तृत निरीक्षण गर्न कठिनाइ भएको र थप विवरण आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी, राहुघाट जलविद्युत् केन्द्रबाहेक थप १२७.८ मेगावाट क्षमताका आयोजनामा प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ । आवश्यक मर्मत तथा वैकल्पिक व्यवस्थामार्फत ती आयोजनाको विद्युत् केही दिनभित्र सञ्चालनमा ल्याउन सकिने प्राधिकरणले जनाएको छ ।
४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ भने टर्बाइन फ्लोरमा पानी पसेको छ । पानी सफा गरी आयोजना पुनः सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान छ । आयोजनाको स्वीचयार्ड भने सामान्य अवस्थामा रहेकाले चार्ज गरिसकिएको छ । प्राधिकरणका अनुसार बाढीका कारण अवरुद्ध सेती–मादी करिडोरका २६२ मेगावाट र मस्र्याङ्दी करिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र पुनः सञ्चालनमा आएका छन् । त्यस्तै, बाढीका कारण बन्द रहेको १४४ मेगावाटको कालीगण्डकी जलविद्युत् केन्द्र समेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
बाढी पहिरोका कारण म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेसन, मनाङ, मुस्ताङ, रुकुम पूर्व, प्युठान र रोल्पामा विद्युत् सेवा प्रभावित भएको थियो । म्याग्दी, बागलुङ, तनहुँको झापुटार र रुकुम पूर्वमा सेवा पुनः सञ्चालन भइसकेको छ। मुस्ताङ, प्युठान र रोल्पामा आज साँझसम्म तथा मनाङमा भोलिसम्म विद्युत् सेवा सुचारु गर्ने गरी नेपाल विद्युत प्राधिकरणले प्राविधिक टोली परिचालित गरिसकेको छ ।
यसअघि गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट माथिल्लो त्रिशूली–३बीको २२० केभी हबमा पुगेको क्षति तथा विभिन्न जलविद्युत् आयोजनामा भएको क्षतिका कारण करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिर रहेको छ । उक्त क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण र प्राधिकरणका सहायक कम्पनीतर्फ प्रारम्भिक रूपमा करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
प्राधिकरणले आगामी सुख्खायाममा विद्युत् माग र आपूर्ति सन्तुलनका लागि आन्तरिक उत्पादनसँगै भारतबाट विद्युत् आयात गर्ने योजना बनाएको छ । सुख्खायाममा आन्तरिक उत्पादनबाट करिब १ हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान छ । माग व्यवस्थापनका लागि ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसी माध्यमबाट १५० मेगावाट गरी कुल करिब १ हजार १५४ मेगावाट विद्युत् आयात गर्ने योजना छ । यसअनुसार सुख्खायाममा कुल विद्युत् उपलब्धता करिब २ हजार ३७२ मेगावाट पुग्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षको सुख्खायाममा राष्ट्रिय विद्युत् मागको उच्चतम स्तर २ हजार २९२ मेगावाट रहेको थियो।












समाचार
दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
कर्णाली प्रदेश सभाका सांसद शर्मा पदमुक्त
नारायणीको जलसतह साढे चार मिटर घट्यो
टिमुरेको टेलिफोन टावरमा सोलार जडान, डिजेल ढुवानीको बाध्यता हट्यो
विद्युत महसुलमा लगाइएको भ्याटले लागत बढ्यो, फिर्ता लिन सरकारलाई महासंघको आग्रह
चार महिनापछि सुकेटार विमानस्थलमा उडान सुरु, ताप्लेजुङवासीमा खुसी
हर्मुज खोल्ने इरानी प्रस्ताव अस्वीकार
१५२ देशसँग वैदेशिक व्यापार: ३१ मुलुकसँग मात्रै नाफा
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५३ जनाको शव फेला
सेयर बजारमा १६ अंकको गिरावट, परिसूचक फेरि २५ सय नजिक, कारोबार ५ अर्बमा सिमित