हिमलुङ हिमपहिरोमा ९ जना अझै बेपत्ता, ७ को शव फेला, बाक्लो हिउँ जमेका कारण उद्धार कार्यमा कठिनाइ

काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिकास्थित हिमलुङ हिमालमा गत आइतबार गएको हिमपहिरोमा परेकामध्ये ७ जनाको शव भेटिएको छ । ९ जना अझै बेपत्ता छन् । हिउँको थुप्रो धेरै भएकाले पन्छाउन समस्या भएको उद्धारमा खटिएकाहरूले बताएका छन् ।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार हालसम्म ७ जनाको शव भेटिएको छ भने बाँकीको खोजी कार्य जारी छ । गोरखाको धार्चेका आश गुरुङ, खोटाङको ऐसेलुखर्कका सुरज राई र रुकुमको हुकामका कमल बुढाको शव फेला परेको छ । उनीहरू तीनै जना हिमालयन होलिडेज ट्राभलसँग आबद्ध रहेको प्रशासनले जनाएको छ ।

यसअघि ४ जनाको शव फेला परेको थियो । जसमा वीरेन्द्र गुरुङ, घनश्याम राई, छेबी भोटे र पासाङ भोटे छन् ।

बेपत्ता हुनेहरूमा हिमालयन होलिडेजका ७ जना र इम्याजिन नेपालका २ जना रहेको बताइएको छ । बेपत्ताको खोजी तथा शव निकाल्न हिमलुङ क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अनुसार आईएफएमजीए माउन्टेन गाइड पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा उद्धार टोली हिमलुङमा छ ।

नेपाल पर्वतारोहण संघका महासचिव राजेन्द्रबहादुर लामाका अनुसार संघका सदस्य एवं माउन्टेन रेस्क्यु कमिटीका संयोजक विक्रम कार्की हिमपहिरो लगत्तै उद्धारमा खटिएका छन् । ‘हामीले सबै प्रयास गरिरहेका छौँ । राज्यले पनि कोसिस गरिरहेको छ । हिउँको थुप्रो पन्छाउन कठिनाइ भएको कुरा आएको छ,’ महासचिव लामाले भने ।

हिमपहिरो गएको पहिलो दिन लामासहितको टोली पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेसँगै थियो । ‘पहिलो दिन हामी डिजीसँगै थियौँ । सरकारले हामी जिम्मा लिन्छौँ भन्यो र उद्धारमा हेलिकप्टर खटाएको छ । हामीले पनि रेस्क्यु टिम खटाएका छौँ । रेस्क्युको मुख्य जिम्मा सरकारकै हो,’ लामाले भने, ‘रेस्क्युको जिम्मा राज्यको हो । रेस्क्युमा दक्ष जनशक्ति जानुपर्छ । खर्च पनि राज्यले नै बेहोर्छ ।’

उनका अनुसार उक्त ठाउँमा सामान्यतया हिउँ हुँदैनथ्यो । तर, हिमपहिरोका कारण अहिले धेरै हिउँ जमेका कारण उद्धारमा समस्या भइरहेको छ । त्यसका बाबजुद उद्धार कार्य भइरहेको छ ।

पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले पर्यटन विभागले रेस्क्युका लागि सबै पक्षसँग समन्वय गरिरहेको बताए । ‘आवश्यक समन्वय गरेर रेस्क्युको काम भइरहेको छ । राज्यको तर्फबाट सक्दो प्रयास भइरहेको छ,’ उनले भने ।

असोज ११ गते हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा हिमपहिरो खसेको थियो । करिब ४ हजार ७ सय मिटर उचाइमा रहेको आधार शिविरका टेन्टहरू ठूलो परिमाणको हिउँले पुरिएका थिए । प्रतिकूल मौसम, बाक्लो हिउँ र जोखिमपूर्ण भूगोलका कारण तत्कालै सबै ठाउँमा पुगेर खोजी गर्न सम्भव भएको थिएन ।

घटनापछि नेपाल प्रहरीले उद्धार टोली परिचालन गरेको थियो । मौसम र भौगोलिक विकटताबीच नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार टोली घटनास्थल पु¥याउने प्रयास भएको थियो । शेर्पा र कार्की नेतृत्वको अनुभवी टोली पनि खोजीमा परिचालित भएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट