
काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढेको पछिल्लो तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिना (साउन र भदौ) मा पर्यटन क्षेत्रमा ७० परियोजनाका लागि ३ अर्ब ७४ करोड रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ ।
कुल ११ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको विदेशी लगानी प्रतिबद्धतामध्ये पर्यटनको हिस्सा सबैभन्दा धेरै रहेको उद्योग विभागका सूचना अधिकारी सुरेश दाहालले जानकारी दिए । उनका अनुसार दुई महिनाको कुल लगानी प्रतिबद्धतामा पर्यटनमूलक, उत्पादनमूलक, ऊर्जामूलक, कृषिमूलक, खनिज, सेवामूलक, पूर्वाधारमूलक, सूचनामूलक गरी ३ सय २८ परियोजना छन् ।
गत आर्थिक वर्षमा सूचना प्रविधिमूलक उद्योगमा लगानीकर्ताको आकर्षण देखिएको थियो भने यस आर्थिक वर्षको सुरुवातमा पर्यटन क्षेत्रमा आकर्षण देखिएको छ । यो तथ्यांक नेपालको पर्यटन सम्भावनाप्रतिको बाह्य विश्वासको संकेत हो ।
हिमाल, पदयात्रा, धार्मिक तथा सांस्कृतिक सम्पदा, वन्यजन्तु, साहसिक गतिविधि र नयाँ गन्तव्यका कारण नेपालको पर्यटन क्षेत्रमा आन्तरिकदेखि बाह्य लगानी विस्तार हुँदै छ । विदेशी लगानीकर्ताको चासोलाई विश्वासमा बदल्दै कार्यान्वयनमा लैजानुपर्ने आजको आवश्यकता बनेको छ ।
पर्यटन व्यवसायी किशोर पाण्डे लगानीलाई प्रतिफलमा बदल्न सरकारले पूर्वाधार र नीतिगत वातावरण सुधारमा ध्यान दिनुपर्ने बताउँछन् । ‘नेपालमा पर्यटनको सम्भावना देखेर विदेशी लगानीकर्ता आकर्षित भएका हुन् । प्रतिबद्धता मात्रै पर्याप्त हुँदैन । लगानीलाई परियोजनामा र परियोजनालाई प्रतिफलमा बदल्न सरकारले पूर्वाधार र नीतिगत वातावरण सुधारमा ध्यान दिनुपर्छ ।’ उनी भन्छन् ।
अर्का पर्यटन व्यवसायी एवं ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा तीनवटै तहका सरकार (संघ, प्रदेश र स्थानीय तह) का साथै निजी क्षेत्रको सहकार्यमा जोड दिन्छन् । ‘गुणस्तरीय पर्यटक आकर्षित गर्न गुणस्तरीय होटल र पर्यटन पूर्वाधार आवश्यक छ । काठमाडौंमा मात्र गुणस्तरीय होटल थपेर पुग्दैन । पर्यटकीय गन्तव्यसम्म पहुँच र पूर्वाधार विस्तार गर्न तीनै तहका सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक पर्छ ।’ शेर्पा भन्छन् ।
परियोजना स्वीकृत भएपछि पनि अनुमति प्रक्रिया, जग्गा, पूर्वाधार, वित्तीय व्यवस्थापन र नीतिगत अनिश्चितताजस्ता कारणले लगानी कार्यान्वयनमा ढिलाइ हुने गरेको अधिकारीहरू बताउँछन् । पर्यटनमा पूर्वाधारको भूमिका अझ महत्वपूर्ण हुन्छ ।
होटल वा रिसोर्टमा मात्रै लगानी गरेर पर्यटक आउँदैनन् । गन्तव्यसम्म सहज यातायात, भरपर्दो हवाई सम्पर्क, ऊर्जा, इन्टरनेट, सुरक्षा र गुणस्तरीय सेवा आवश्यक हुन्छ । त्यसैले पर्यटनमा निजी लगानी बढाउन सरकारले पूर्वाधार र लगानी वातावरण दुवैमा ध्यान दिन जरुरी छ ।
पर्यटनमा देखिएको आकर्षणले नेपालमा पर्यटनको सम्भावना कति छ भन्ने देखाउँछ । उक्त सम्भावनालाई यथार्थमा बदल्दै मुलुकको आर्थिक विकासको आधारको रुपमा स्थापित गराउन सकिन्छ ।
पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोडेर स्थायित्व प्रदान गर्न सकिन्छ । विदेशी लगानीबाट बनेका होटल, रिसोर्ट र पर्यटन परियोजनालाई स्थानीय कृषि उत्पादन, यातायात, हस्तकला, रोजगारी र सेवा व्यवसायलाई अगाडि बढाउन सकिन्छ । जसबाट नेपालमा पर्यटक बढाउने मात्र नभइ बढी समय नेपालमा राख्ने र खर्च गर्ने वातावरण बन्छ ।
पर्यटनमा आएको विदेशी लगानीको प्रतिबद्धता उत्साहजनक छ । परियोजना निर्माण, रोजगारी सिर्जनासहित पर्यटकको खर्चमार्फत अर्थतन्त्रमा टेवा दिन थालेपछि यसको प्रभाव अर्थतन्त्रमा मापन हुनेछ ।
विदेशी लगानीकर्ताले नेपालको पर्यटनमा सम्भावना देखाएका छन् । नेपालमा पर्यटनको सम्भावना पहिलेदेखि नै औल्याउदै आएको विषय हो । त्यसलाई लगानी र परिणाममा बदल्ने समय आएको छ । सम्भावनालाई दीर्घकालीन आर्थिक उपलब्धिमा बदल्ने रणनीति र योजनामा ध्यान दिन जरुरी छ ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद