
काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढेको पछिल्लो तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिना (साउन र भदौ) मा पर्यटन क्षेत्रमा ७० परियोजनाका लागि ३ अर्ब ७४ करोड रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ ।
कुल ११ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको विदेशी लगानी प्रतिबद्धतामध्ये पर्यटनको हिस्सा सबैभन्दा धेरै रहेको उद्योग विभागका सूचना अधिकारी सुरेश दाहालले जानकारी दिए । उनका अनुसार दुई महिनाको कुल लगानी प्रतिबद्धतामा पर्यटनमूलक, उत्पादनमूलक, ऊर्जामूलक, कृषिमूलक, खनिज, सेवामूलक, पूर्वाधारमूलक, सूचनामूलक गरी ३ सय २८ परियोजना छन् ।
गत आर्थिक वर्षमा सूचना प्रविधिमूलक उद्योगमा लगानीकर्ताको आकर्षण देखिएको थियो भने यस आर्थिक वर्षको सुरुवातमा पर्यटन क्षेत्रमा आकर्षण देखिएको छ । यो तथ्यांक नेपालको पर्यटन सम्भावनाप्रतिको बाह्य विश्वासको संकेत हो ।
हिमाल, पदयात्रा, धार्मिक तथा सांस्कृतिक सम्पदा, वन्यजन्तु, साहसिक गतिविधि र नयाँ गन्तव्यका कारण नेपालको पर्यटन क्षेत्रमा आन्तरिकदेखि बाह्य लगानी विस्तार हुँदै छ । विदेशी लगानीकर्ताको चासोलाई विश्वासमा बदल्दै कार्यान्वयनमा लैजानुपर्ने आजको आवश्यकता बनेको छ ।
पर्यटन व्यवसायी किशोर पाण्डे लगानीलाई प्रतिफलमा बदल्न सरकारले पूर्वाधार र नीतिगत वातावरण सुधारमा ध्यान दिनुपर्ने बताउँछन् । ‘नेपालमा पर्यटनको सम्भावना देखेर विदेशी लगानीकर्ता आकर्षित भएका हुन् । प्रतिबद्धता मात्रै पर्याप्त हुँदैन । लगानीलाई परियोजनामा र परियोजनालाई प्रतिफलमा बदल्न सरकारले पूर्वाधार र नीतिगत वातावरण सुधारमा ध्यान दिनुपर्छ ।’ उनी भन्छन् ।
अर्का पर्यटन व्यवसायी एवं ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा तीनवटै तहका सरकार (संघ, प्रदेश र स्थानीय तह) का साथै निजी क्षेत्रको सहकार्यमा जोड दिन्छन् । ‘गुणस्तरीय पर्यटक आकर्षित गर्न गुणस्तरीय होटल र पर्यटन पूर्वाधार आवश्यक छ । काठमाडौंमा मात्र गुणस्तरीय होटल थपेर पुग्दैन । पर्यटकीय गन्तव्यसम्म पहुँच र पूर्वाधार विस्तार गर्न तीनै तहका सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक पर्छ ।’ शेर्पा भन्छन् ।
परियोजना स्वीकृत भएपछि पनि अनुमति प्रक्रिया, जग्गा, पूर्वाधार, वित्तीय व्यवस्थापन र नीतिगत अनिश्चितताजस्ता कारणले लगानी कार्यान्वयनमा ढिलाइ हुने गरेको अधिकारीहरू बताउँछन् । पर्यटनमा पूर्वाधारको भूमिका अझ महत्वपूर्ण हुन्छ ।
होटल वा रिसोर्टमा मात्रै लगानी गरेर पर्यटक आउँदैनन् । गन्तव्यसम्म सहज यातायात, भरपर्दो हवाई सम्पर्क, ऊर्जा, इन्टरनेट, सुरक्षा र गुणस्तरीय सेवा आवश्यक हुन्छ । त्यसैले पर्यटनमा निजी लगानी बढाउन सरकारले पूर्वाधार र लगानी वातावरण दुवैमा ध्यान दिन जरुरी छ ।
पर्यटनमा देखिएको आकर्षणले नेपालमा पर्यटनको सम्भावना कति छ भन्ने देखाउँछ । उक्त सम्भावनालाई यथार्थमा बदल्दै मुलुकको आर्थिक विकासको आधारको रुपमा स्थापित गराउन सकिन्छ ।
पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोडेर स्थायित्व प्रदान गर्न सकिन्छ । विदेशी लगानीबाट बनेका होटल, रिसोर्ट र पर्यटन परियोजनालाई स्थानीय कृषि उत्पादन, यातायात, हस्तकला, रोजगारी र सेवा व्यवसायलाई अगाडि बढाउन सकिन्छ । जसबाट नेपालमा पर्यटक बढाउने मात्र नभइ बढी समय नेपालमा राख्ने र खर्च गर्ने वातावरण बन्छ ।
पर्यटनमा आएको विदेशी लगानीको प्रतिबद्धता उत्साहजनक छ । परियोजना निर्माण, रोजगारी सिर्जनासहित पर्यटकको खर्चमार्फत अर्थतन्त्रमा टेवा दिन थालेपछि यसको प्रभाव अर्थतन्त्रमा मापन हुनेछ ।
विदेशी लगानीकर्ताले नेपालको पर्यटनमा सम्भावना देखाएका छन् । नेपालमा पर्यटनको सम्भावना पहिलेदेखि नै औल्याउदै आएको विषय हो । त्यसलाई लगानी र परिणाममा बदल्ने समय आएको छ । सम्भावनालाई दीर्घकालीन आर्थिक उपलब्धिमा बदल्ने रणनीति र योजनामा ध्यान दिन जरुरी छ ।












समाचार
‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’
मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
अब अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट
देशभर २७२ विपद्का घटना
मनसुन कमजोर बन्दै, कस्तो रहला आजको मौसम ?
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
कर्णाली प्रदेश सभाका सांसद शर्मा पदमुक्त
नारायणीको जलसतह साढे चार मिटर घट्यो