
काठमाडौं । अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक सङ्घले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रूपमा मनाइरहेको छ । यस वर्षको दिवसको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ ।
सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यस वर्ष असोज २३ गते अर्थात् अक्टोबर ९ मा मनाइँदै छ । सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको विश्व अण्डा दिवसले यस वर्ष ३० वर्ष पूरा गर्दैछ ।
दिवसका अवसरमा देशभरका विभिन्न विद्यालयमा अण्डाको पोषण, स्वास्थ्यमा यसको भूमिका तथा सन्तुलित आहारमा यसको महत्त्वबारे विद्यार्थी र अभिभावकलाई जानकारी गराउने कार्यक्रम सञ्चालन भइरहेको छ । गत सातादेखि भेटेरिनरी चिकित्सक र स्वास्थ्यकर्मीहरूले अण्डाको महत्त्वका बारेमा विद्यार्थी र शिक्षकहरूलाई जानकारी गराइरहेका छन् ।
सङ्घको मुख्य आयोजना, अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी) को सहयोग तथा सरकारी र निजी क्षेत्रको सहकार्यमा विशेष कार्यक्रम गरिँदैछ । असोज २३ गते बिहान ७:०० बजे उद्योग सङ्घ चितवनको परिसरबाट ‘एग वाक’ सुरु भई नारायणगढको सहिद चोकमा पुगेर समापन हुनेछ । एग वाकमार्फत अण्डाको पोषण, स्वास्थ्यमा यसको सकारात्मक प्रभाव र दैनिक आहारमा यसको महत्त्वबारे जनचेतना फैलाइनेछ ।
सोही दिन सरोकारवालाको सहभागितामा प्यानल डिस्कसन पनि आयोजना गरिनेछ । उक्त कार्यक्रममा अण्डा उत्पादन, पोषण, स्वास्थ्य, उपभोग, बजार तथा नेपाली समाजमा अण्डाको भूमिकाबारे छलफल हुनेछ ।
फिजिसियन डा. भोजराज अधिकारीका अनुसार एउटा अण्डामा करिब ६ ग्राम उच्च गुणस्तरको प्रोटिनसँगै भिटामिन ए, बी, बी १२, कोलिन र लिसिफिनजस्ता शरीरलाई आवश्यक पर्ने तत्त्व पाइन्छन् । यसैगरी भिटामिन डी, ई, फोलेट, फस्फोरस, सेलेनियम र जिङ्कजस्ता पोषक तत्त्व पनि यसमा उपलब्ध हुन्छन् । अण्डामा पाइने प्रोटिनले शरीरका तन्तु तथा मांसपेशी निर्माण र मर्मतमा सहयोग गर्नुका साथै बालबालिकाको वृद्धि–विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
अण्डामा पाइने कोलिनले मस्तिष्क तथा स्नायु प्रणालीको सामान्य कार्यमा सहयोग गर्छ । पहेँलो भागमा पाइने ल्युटिन तथा जेक्स्यान्थिनले आँखाको स्वास्थ्यमा सकारात्मक योगदान पुर्याउँछ । एक जना व्यक्तिलाई एउटा अण्डाको पहेँलो भाग खाँदा उसको शरीरलाई चाहिने कोलस्ट्रोलको एक भाग प्राप्त हुने भएकाले यो खानु आवश्यक मानिन्छ ।
यसअघि पहेँलो भाग खान हुन्न भन्ने विज्ञहरूको भनाइ रहने गरेको भए पनि अहिले अण्डालाई सन्तुलित तथा विविधतायुक्त आहारको महत्त्वपूर्ण हिस्साका रूपमा लिने गरिएको छ ।
नेपालका कुखुरापालक किसानहरू विस्थापित हुने अवस्थामा पुगेपछि चार वर्षअघि स्थापना भएको नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको बजारीकरणमा काम गर्दै आएको छ । यसका कारण अहिले नेपालमा नयाँ किसानहरू पनि कुखुरापालन क्षेत्रमा आकर्षित भएका छन् र यो क्षेत्र व्यवसायीकरण हुने क्रममा रहेको छ । लामो समयदेखि लागत मूल्य नपाएर किसान विस्थापित भएकामा सङ्घकै पहलमा पछिल्ला दिनहरूमा किसानले लागत मूल्य पाउन थालेका छन् । उत्पादन बढाएसँगै खपत बढाउने उद्देश्यले यस्ता चेतनामूलक कार्यक्रमको नेतृत्व सङ्घले लिँदै आएको अध्यक्ष पोखरेलले जानकारी दिए ।












समाचार
भोटेकोशी बाढी: रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै
बाढी पहिरोले म्याग्दीमा साढे पाँच सय घरपरिवार प्रभावित, सात जनाको मृत्यु
चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
हिउँ छिचोल्दै जोमसोम आइपुगे डोल्पाका भेडाच्याङ्ग्रा
देशभर विपद्का १९ घटना, १२ घाइते
आजको मौसम : तराईमा आंशिक बादल, हिमालमा हिमपातको सम्भावना
डलरको मूल्य स्थिर, पाउण्ड र युरोको बढ्दा कुन देशको विनिमयदर कति ?
सहकारीका ऋणीलाई ११ करोड असुली