
म्याग्दी । असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछि आएको बाढी पहिरोले म्याग्दीका करिब पाँच सय ५० घरपरिवार प्रभावित भएका छन् ।
पहिरोका कारण एक सय ११ घरमा पूर्ण क्षति भएको छ भने ९३ घरमा आंशिक क्षति पुगेको छ । यसैगरी तीन सय ४२ घर उच्च जोखिममा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सबैभन्दा बढी क्षति अन्नपूर्ण गाउँपालिकामा भएको छ । त्यहाँ ४५ घर पूर्ण रूपमा भत्किएका छन् भने १२ घरमा आंशिक क्षति पुगेको छ । अन्नपूर्णका एक सय ८३ घर अझै जोखिममा रहेका छन् ।
बेनी नगरपालिकामा ३० घर पूर्ण, १४ घर आंशिक र ४५ घर जोखिममा परेका छन् । मंगला गाउँपालिकामा २३ घरमा पूर्ण, ३२ घरमा आंशिक क्षति र ३५ घर जोखिममा परेको सहायक प्रजिअ आचार्यले बताए । यसैगरी रघुगंगा गाउँपालिकामा छ घर पूर्ण, २७ घर आंशिक र ५३ घर जोखिममा परेका छन् ।
मालिका गाउँपालिकामा तीन घर पूर्ण, एक घर आंशिक र तीन घर जोखिममा परेका छन् । धवलागिरी गाउँपालिकामा चार घर पूर्ण, सात घर आंशिक र २३ घर जोखिममा रहेका छन् ।
बाढी पहिरोका कारण ५६ वटा गोठ भत्किएर तथा पुरिएर क्षति पुग्दा २० पशुचौपाया मरेका छन् । अन्नपूर्ण गाउँपालिकाको गिवाङ, पाउद्धार, किन्दु र घिरवाङका एक सय १५ जना पहिरो प्रभावितलाई उद्धार गरेर शिख र घारको अस्थायी शिविरमा राखिएको छ । सडक यातायात अवरुद्ध भएकाले विस्थापितहरूलाई बेनीबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गरेर उपलब्ध गराइएको छ ।
पहिरोमा परी अन्नपूर्ण गाउँपालिकामा पाँच र मालिका गाउँपालिकामा दुई गरी सात जनाको मृत्यु भएको छ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा एक–एक जना बेपत्ता भएका छन् ।
पहिरोले सडक, खानेपानी, नदी नियन्त्रण, विद्यालय भवन, सार्वजनिक भवन, पदमार्ग, सिँचाइ, कृषि तथा पशुपंक्षी लगायतका क्षेत्रमा पुर्याएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । पूर्ण विवरण सङ्कलन भइसक्दा क्षतिको आँकडा अझै बढ्ने प्रशासनको भनाइ छ ।












समाचार
विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम
भोटेकोशी बाढी: रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै
चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
हिउँ छिचोल्दै जोमसोम आइपुगे डोल्पाका भेडाच्याङ्ग्रा
देशभर विपद्का १९ घटना, १२ घाइते
आजको मौसम : तराईमा आंशिक बादल, हिमालमा हिमपातको सम्भावना
डलरको मूल्य स्थिर, पाउण्ड र युरोको बढ्दा कुन देशको विनिमयदर कति ?
सहकारीका ऋणीलाई ११ करोड असुली