
मुस्ताङ । दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान आइपुगेका छन् ।
उपल्लो मुस्ताङबाट भने शनिबारसम्म भेडाच्याङ्ग्रा जोमसोम आइपुग्ने बताइएको छ । डोल्पाका व्यापारी शेरबहादुर रोकाया आफ्ना पाँच सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा लिएर शनिबार साँझ जोमसोम आइपुगेका छन् ।
डोल्पाबाट जोमसोम आइपुग्न रोकायाको टोलीलाई एक साताभन्दा बढी समय लागेको छ । विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका रोकायाले यसपटक हिउँ छिचोल्दै जोखिमपूर्ण यात्रा गरेर च्याङ्ग्रा जोमसोम ल्याएको बताएका छन् ।
डोल्पो बुद्ध गाउँपालिकाबाट यही असोज ९ गते जोमसोमतर्फ प्रस्थान गरेको रोकायाको टोली असोज १७ गते साँझ जोमसोम आइपुगेको हो । हाल ती भेडाच्याङ्ग्रा जोमसोमको घरपझोङ गाउँपालिकास्थित सार्वजनिक मैदानमा राखिएको छ ।
डोल्पाबाट मुस्ताङ आउने बाटोमा सेताम्मे हिउँ जमेको थियो । भारी वर्षा र हिमपातका कारण मुस्ताङ–डोल्पा जोड्ने पदमार्गमा यात्रा निकै कठिन बनेको रोकायाले जानकारी दिएका छन् ।
माथिल्लो डोल्पाका डोल्पो बुद्ध, से–फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकाका किसानबाट च्याङ्ग्रा खरिद गरी जोमसोम ल्याइएको हो । नेपाल–चीन सीमा क्षेत्रमा लाग्ने चोङ्ग्रा मेला बन्द भएकाले यसपटक डोल्पामै च्याङ्ग्रा खरिद गर्नुपरेको रोकायाले बताएका छन् ।
डोल्पाबाट यसपटक करिब आठ हजारभन्दा बढी भेडाच्याङ्ग्रा जोमसोम ल्याउने तयारी भइरहेको छ । सेताम्मे हिउँ, अत्यधिक चिसो र जोखिमपूर्ण बाटो छिचोल्दै व्यापारीहरू च्याङ्ग्रा लिएर जोमसोम आइपुगेका हुन् । गत वर्ष दसैँका बेला व्यापारमा आंशिक घाटा व्यहोरे पनि यसपटक च्याङ्ग्रामा ठूलो लगानी गरिएको छ ।
गत वर्षको तुलनामा यस वर्ष डोल्पाबाट कम सङ्ख्यामा च्याङ्ग्रा जोमसोम झरिरहेका छन् । गत वर्ष ११ हजारभन्दा बढी च्याङ्ग्रा डोल्पाबाट मुस्ताङ ल्याइएको थियो । बाढीपहिरोका कारण सडक तथा पदमार्ग अवरुद्ध भएमा च्याङ्ग्रा पोखरा लैजान थप समस्या हुने देखिन्छ । व्यापारी रोकायाले आफ्नो सबै सम्पत्ति च्याङ्ग्रामै लगानी भएको बताए । दसैँका बेला डोल्पा फर्कने बाटो सरकारले समयमै सहज बनाइदिए धेरै राम्रो हुने उनको भनाइ छ ।











समाचार
विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम
भोटेकोशी बाढी: रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै
बाढी पहिरोले म्याग्दीमा साढे पाँच सय घरपरिवार प्रभावित, सात जनाको मृत्यु
चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
देशभर विपद्का १९ घटना, १२ घाइते
आजको मौसम : तराईमा आंशिक बादल, हिमालमा हिमपातको सम्भावना
डलरको मूल्य स्थिर, पाउण्ड र युरोको बढ्दा कुन देशको विनिमयदर कति ?
सहकारीका ऋणीलाई ११ करोड असुली