
काठमाडौं । बडा दशैंको सातौं दिन आज हिन्दू धर्मावलम्बीहरुको घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार फूलपाती पर्व मनाइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक पूजा गरी दुर्गालाई आह्वान गर्ने चलन छ । घरको पूजाकोठा तथा दशैं घरमा आज नौ प्रकारका बोटविरुवा र फलफूल राख्ने गरिन्छ । उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष पूजाकोठामा भित्र्याइन्छ । आजै हनुमानढोका दरबारको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ ।
नवपत्रिकाको नामले चिनिने फूलपाती नौवटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने बिश्वास छ। गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पुजारीसहित मगर जातिका ६ जनाले फूलपाती ल्याउँछन् । जीवनपुरबाट काठमाण्डुको जमलसम्म यतैबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा छ ।
त्यहाँबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टनसहित ब्याण्डबाजा र पञ्चैबाजा बजाएर सांस्कृतिक नाचगान गर्दै लावालस्करका साथमा फूलपाती हनुमानढोका भित्र्याइन्छ । फूलपातीका अवसरमा नेपाली सेनाले पनि सैनिक मञ्च टुँडिखेलमा बढाइँ गर्ने गरेको छ । बढाइँ समारोहमा नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेल सरिक हुनेछन् ।
इतिहाकार एवं प्राज्ञ दिनेशराज पन्तका अनुसार दुर्गापूजा एवं विजयोत्सवसँग जोडिएको फूलपाती बढाइँको लामो इतिहास रहे पनि टुँडिखेलको हालको फूलपाती बढाइँ पृथ्वीनारायण शाहको समयदेखि हुँदै आएको हो । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न धेरै मानिस दशैं पर्व मनाउन काठमाण्डु उपत्यकाबाट घर फर्कन्छन् ।












समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
यस्तो छ आजको मौसम
आजको सटही दर : कुन देशको विनिमयर कति ?