
बाँके । नेपालगञ्ज–१० आदर्शनगर निवासी रिता गुरुङ वैदेशिक रोजगारीबाट फर्किएर अहिले स्वदेशमै उद्यममा लागेकि छिन् । उनले दुई वर्षदेखि सेलरोटी बनाइ बिक्री गर्दै आएकी हुन् ।
‘म यही उद्यम गर्नमा रमाइरहेको छु । सेलरोटी नेपालगञ्जका होटल र क्याफेमा बिक्री हुने गरेका छन्,’ उनले भनिन् । दैनिक रुपमा मागअनुसार ५० देखि एक सय सेलरोटी पकाएर बिक्री वितरण गर्ने गरेको उनको भनाइ छ । अन्य समयमाभन्दा दसैँ तिहारमा रोटी पकाउन भ्याइनभ्याइ हुने गरेको उनको भनाइ छ । ‘अन्य बेलाभन्दा दसैँतिहारलगायत चाडपर्व र कार्यक्रममा सेलरोटीको माग बढी हुने गरेको छ’, उनले भनिन्, ‘सेलरोटीका लागि अहिले नेपालगञ्ज बाहिर कोहलपुर, खजुरा, राँझा विमानस्थलबाटसमेत माग भइरहेको छ ।’
केही समय वैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुक कुवेत गएर फर्किएकी गुरुङले यो वर्षको तिहारमा सेलरोटी, फिनी रोटी र झिनिया बिक्री गरेर रु एक लाखभन्दा बढी आम्दानी गरेको सुनाइन् । गुरुङले यो तिहारमा लागि झिनिया (सिन्कामारी), फिनी, सेल तथा बतासा रोटी बनाएर बिक्री गरेको बताइन् । ‘मैले प्रत्येक वर्ष तिहारका लागि झिलिङ्गा (सिन्कामारी), फिनी, सेल तथा बतासा रोटी बनाउने गरेको छु, ग्राहक यहीँ आउनुहुन्छ’, गुरुङले भनिन्, ‘एकपटक आएका ग्राहक बारम्बार आउने गर्नुभएको छ ।’
यो वर्षको तिहारमा झिनिया (सिन्कामारी) रोटी प्रतिगोटा रु ३०, फिनीरोटी प्रतिगोटा रु ४०, सेलरोटी प्रतिगोटा रु ३० र बतासा रोटी प्रतिगोटा रु १५ मा बिक्री गर्ने गरेको गुरुङले बताइन् । सिजनको समयको रोटी व्यवसायले राम्रो आम्दानी हुनुका साथै घरखर्च गर्न निकै सहज भएको उनको भनाइ छ । ‘म केही वर्षअघि रोजगारीका लागि विदेशसमेत गएर फर्के, विदेशमा काम गर्न अत्यन्तै गाह्रो हुँदोरहेछ, आफूले सोंचेको र भनेको जस्तो नहुँदो रहेछ’, गुरुङले भनिन्, ‘विदेशमा दुःख पाउनुभन्दा बरु आफ्नै देशमा फर्केर सानोतिनो भए पनि केही काम गर्छु भनेर नेपाल फर्के, यहाँ अहिले आफ्नै मेहनतले राम्रै आम्दानी भएको छ ।’
विदेशबाट फर्केर खोलेको खाजा नास्ता पसलसँगै सेलरोटी बनाउने उद्यमले अहिले रिताले आफ्नो घरपरिवार पाल्नेदेखि छोराछोरीको पढाई खर्च जुटाइरहेकी छन् । ‘खाजा नास्तासँगै चाडबाडमा त्यसमा पनि तिहारका बेलामा रोटी बिक्रीबाट राम्रो आम्दानी पनि भइरहेको छ, अहिले त अर्डर पु¥याउन पनि गाह्रो भइरहेको छ, बिहानैदेखि रातिसम्म रोटी बनाउन भ्याइनभ्याइ छ’, उनले भनिन्, ‘यो तिहारमा राम्रै बिक्री भयो, ठ्याक्कै हिसाब त गरेको छैन तर एक लाखभन्दा धेरै नै आम्दानी भयो ।’
रोजगारीका लागि भौतारिएर ठूलो रकम खर्च गरेर विदेश जानभन्दा सानोतिनो लगानीमा स्वदेशमै केही उद्यम व्यवसाय गर्नसके विस्तारै राम्रो आम्दानी हुने उनको भनाइ छ । उनको सेलरोटी पसलमा ग्राहकको बिहानैदेखि खचाखच हुने गरेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू