
सुनसरी । इटहरी उपमहानगरपालिका– ६ की चन्द्रकुमारी घिमिरे सालको पात टिप्न उदयपुरको गाईघाट पुग्छिन् । इटहरीबाट गाईघाट आउन जानै एक दिन लाग्छ । गाईघाट पुगेर दिनभर सालका पात टिपेर घर फर्किछिन् । ‘साँझ घर फर्केर पातका मुठा बनाउनुपर्छ त्यसपछि पातको दुनाटपरी गाँस्न प्रयोग हुने बाँसको सिन्का तयार गर्नुपर्छ,’ उनले भनिन्, ‘तयार गरिसकेपछि बेच्नका लागि टेङ्ग्रा खोला नजिकै पुग्ने गरेको छ ।’ उनले सालको पात बेच्न थालेको तीन वर्ष भयो । ‘नजिकै सालको पात पाइँदैन, गाईघाटसम्म पुग्नुपर्छ तर यहाँ ल्याई सकेपछि बिक्री नहोला भन्ने चिन्ता छैन,’ उनले भनिन् ।
सालको पात पनि सिजन अनुसार बिक्री हुन्छ । ‘जेठ, असार, साउन महिनामा खासै बिक्री हुँदैन । भदौ, असोज लागेसँगै चाडपर्व सुरु हुन्छ र बिक्री बढ्छ’, उनले भनिन्, ‘कहिलेकाहीँ पात पु¥याउनै गाह्रो हुन्छ ।’ उनका अनुसार सालको पात बिक्री गरेर मासिक रु २० देखि २५ हजारसम्म आम्दानी हुन्छ । घिमिरेले प्रतिमुठा ठूलो रु एक सय र सानो रु ५० देखि ७० मा बिक्री गर्दै आएकी छिन् । दैनिक २० देखि २५ मुठासम्म सालको पात तिहारको बेला बिक्री हुने गरेको उनको भनाइ छ । तिहार खर्च यसैबाट जुट्ने उनले सुनाइन् ।
इटहरी उपमहानगरपालिका– ३ का डम्मर कुमारी विक पनि चन्द्रकुमारीले झैँ सालको पात बिक्री गरी हुने आम्दानीबाट सन्तुष्ट छिन् । उनल पनि सालको पात टिप्न हप्ताको एक दिन गाईघाट पुग्नु पर्छ । ‘जहाँ पायो त्यहाँ राम्रो पात पाइँदैन, रुखमा चढ्न सकिँदैन, गाईघाट पुगेर ल्याउनुपर्छ’, उनले भनिन् । पात बेच्न इटहरीका प्रत्येक हटियामा जाने गरेको उनको भनाइ छ । अरु समयको तुलनामा दसैँ, तिहार, एकादशी, छठ पूजामा सालको पातको माग धेरै रहेको उनले बताइन् । ‘चाडपर्व धेरैजसो यही पात बेचेर खर्च टार्ने गरेको छु । दैनिक एक हजार पाँच सयसम्मको बिक्री गर्ने गरेको छु’, विकले भनिन्, ‘अहिले पातको बिक्री बढेसँगै कोला बेच्ने व्यापारीदेखि लिएर सागसब्जी बेच्ने व्यापारीले समेत पात बेच्न सुरु गरेका छन् ।’
बिना लगानीमै फुर्सदमा पात संकलन गरेर बिक्री गर्दा राम्रो आम्दानी हुने भएसँगै हाल इटहरी क्षेत्रमा १५ भन्दा बढी महिलाले सालको पात बिक्री गर्दै आएकी छन् । सालको पात पूजापात भोजभतेर, मन्दिर, चाडवाडमा र दैनिक घरायसी प्रयोजनका लागि र दुनाटपरी बनाउन सहरी क्षेत्रमा पनि माग बढेकाले पातको व्यापार बढेको व्यापारी बताउँछन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व