
बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाका महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुने तरकारी तथा फलफूलबाट महिलालाई अचार बनाउने तालिम दिइएको हो ।
काठेखोला गाउँपालिका र नेपाल गाजा डेभलपमेण्ट फाउण्डेशनको सहकार्यमा चार वटा वडाका करिब दुई सय महिलालाई तालिम दिएपछि अहिले उनीहरु व्यावसायिक रुपमा अचार बनाउन सुरु गरेका छन् । काठेखोला गाउँपालिका–३ धम्जा, वडा नम्बर ५ बिहुँ, वडा नम्बर ७ रेश र वडा नम्बर ८ लेखानीका महिलालाई तालिम दिइएको गाउँपालिका अध्यक्ष राजु थापाले बताए । स्थानीयस्तरमा उत्पादन भएका अकबरे खुर्सानी, मुला, गाजर, लसुन, अदुवा, कागती, करेलालगायत तरकारी जन्यवस्तुबाट अचार बनाउन सिकाएको उनको भनाइ छ ।
‘धेरै नागरिक बसाइँसराइ गरी बजार झरेपछि अहिले गाउँमा सामान्य वर्गहरुको मात्रै बसाइँ छ, उनीहरुलाई आयआर्जनसँग जोड्नका लागि विभिन्न तालिम दिइ उद्यमी बनाउन थालेका छौँ, अचार बनाउने तालिम बढी प्रभावकारी देखिएपछि चारवटै वडाका महिलालाई दिएका छौँ, तालिमले महिलालाई उद्यमी बनाउने छ,’ अध्यक्ष थापाले भने । काठेखोला गाउँपालिका–३ की रेजिना हमालले पहिले गाउँघरमा उत्पादन हुने तरकारी खेर जाने गरेको भए पनि अहिले गाउँपालिकाले तालिम दिएपछि अचार बनाएर बिक्री गर्न थालेको बताइन । पालिकाले दिएको अन्य तालिमभन्दा अचार बनाउने तालिम निकै प्रभावकारी बनेको उनको भनाइ छ ।
‘हाम्रो बारीमा करेला लटरम्म फल्छ, फलेको सबै खान नसक्दा धेरै खेर जान्थ्यो, अहिले तालिम लिएपछि, खुसार्नी, मुला, स्कुस केही पनि खेर फाल्न हुँदो रैनछ भन्ने लागेको छ, तालिम पाएपछि अहिले बिहान बेलुका घरको काम गरेर फुर्सदको समय अचार बनाउने गरेका छौँ’, हमालले भनिन्, ‘१०/१२ दिनमै मीठो अचार बन्दो रैछ, अब बनाएर बजार पठाउने योजना बनाएका छौँ ।’ काठेखोला–८ की जमुना श्रीसले अचारबाट राम्रो आम्दानी गर्न सकिने बताइन् । आफूहरुले सीप नसिक्दा अहिलेसम्म धेरै तरकारी खेर गएको सुनाउँदै उनले तालिम लिएपछि व्यावसायिक रुपमा अचार उत्पादन गर्न थालेको बताइन् । अचार बनाउनका लागि धेरै समय र खर्च नलाग्ने तर आम्दानी भने मनग्य गर्न सकिने उनको भनाइ छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व