काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भौतिक संरचनाहरुलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् । उत्पादनमा वृद्धी गराउने र आर्थिक विकासमा सहयोग पुग्ने गरि संरचनाहरुको विकास जरुरी रहेको उनले बताएका हुन् ।
बिहिबार ललितपुरको ग्वार्को देखि लाँकुरी भञ्ज्याङ् हुँदै काभ्रेको माने दोभान सम्मको सडक निरीक्षण पछि मन्त्री दाहालले जरुरी स्थानहरुमा सडक तथा संरचनाहरुको विकास गरि स्थानीयबासीको आर्थिक जीवनमा सुधार ल्याउन सरकारले प्राथमिकता दिएको समेत बताए । मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा जनमूखी र आवश्यकतामा आधारीत योजनाहरुलाई प्राथमिकता दिने समेत उनले उल्लेख गरे । संघीय राजधानी उपत्यका भित्र रहेर पनि कतिपय ग्रामिण क्षेत्रमा आधारभूत पूर्वाधारको समेत अभाव रहेको भन्दै उनले आगामी बजेटमा यस्ता स्थानहरुको आवश्यकतालाई संवोधन गर्ने प्रतिवद्धता पनि जनाए ।
त्यस क्रममा ललितपुर क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य प्रेमबहादुर महर्जनले ग्वार्को देखि लुभु–लाँकुरीभञ्ज्याङ् हुँदै ललितपुर, भक्तपुर र काभ्रेको सिमा क्षेत्र माने दोभानसम्मको सडक कालोपत्रे गर्न सके पर्यटन प्रवद्र्धनका साथै स्थानीय कृषि उपजको बजारीकरणमा पनि सहयोग पुग्ने बताए । यस्तै महालक्ष्मी नगरपालिकाका नगरप्रमुख हरीगोविन्द श्रेष्ठले सडक निर्माण र स्तरीकरणमा स्थानीय सरकारको श्रोत साधनले मात्र नपुग्ने भएकाले संघीय सरकारले प्राथमिकता दिनु पर्ने बताए । यसै गरि वडा नं. १० का वडाअध्यक्ष बिजय लामाले स्तरीय सडक सञ्जालको विकास गर्न सके स्वरोजगारीको समेत सिर्जना हुने भएकाले संघीय सरकारले बजेट व्यवस्था गरि दिनु पर्ने बताए ।
युवाहरुलाई निराश नहुन आग्रह
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालमा केहि भएन भनेर निराश नहुन र निराशा नबाँढ्न युवाहरुलाई आग्रह गरेका छन् । बिहिबार ललितपुरको महालक्ष्मी नगरपालिका–१० स्थित लाकुँरी भञ्ज्याङ्मा आयोजीत प्रथम लाकुँरी भञ्ज्याङ् कप फुटबल प्रतियोगीताको समापन कार्यक्रममा बोल्दै उनले नेपाल आधुनिक सुरुङ् युगमा प्रवेश गरि सकेको बताए ।
विकट र दुर्गम क्षेत्रमा समेत सडक सञ्जाल विस्तार भई रहेको, शिक्षा–स्वास्थ्यको पहुँच वृद्धी भएको, सरकारले नवप्रवर्तन र स्वरोजारीलाई प्राथमिकता दिएको भन्दै नेपालमै प्रशस्त अवसरहरु सिर्जना भई रहेको उल्लेख गरे । खेलकुदका माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन युवा तथा खेलाडीहरुको महत्वपूर्ण योगदान रहेको भन्दै मन्त्री दाहालले खेल क्षेत्रको प्रवद्र्धनमा पनि सरकारले प्राथमिकता दिई रहेको जनाए । गत पुष २३ गतेबाट शुरु भएको उक्त फुटबल प्रतियोगीतामा २० ओटा टीमको सहभागीता रहेको खेल संयोजक साङ्गे लामाले जानकारी दिए ।