इन्धन र ग्यासको चर्चाबीच अन्य उपभोग्य वस्तुको महँगी ओझेलमा : पूर्वराज्यमन्त्री दुगड

काठमाडौं । पूर्वराज्यमन्त्री तथा उद्योगपति मोतीलाल दुगडले पेट्रोलियम पदार्थ र ग्यासको मूल्य तथा आपूर्तिको चर्चाबीच दैनिक उपभोग्य अन्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि ओझेलमा परेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजोन) ले काठमाडौंमा आयोजना गरेको ‘बाढीपछिको आपूर्ति र मूल्य शृङ्खलामा परेको प्रभाव तथा चुनौती’ विषयक कार्यक्रममा बोल्दै दुगडले बजारमा बिस्कुटदेखि साबुनसम्म र भान्सामा प्रयोग हुने मसलाजन्य वस्तुको मूल्य उल्लेख्य रूपमा बढेको बताए ।

खाद्य उद्योगीसमेत रहेका दुगडका अनुसार बेसार, अलैँची, मरीच, धनियाँ, जिरा र खुर्सानीजस्ता दैनिक उपभोग्य वस्तुको मूल्य विगतको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ । ‘पहिले प्रतिकिलो १५० रुपैयाँ पर्ने बेसारको मूल्य अहिले ३५० रुपैयाँ पुगेको छ,’ उनले भने, ‘त्यस्तै, १ हजार २०० रुपैयाँ पर्ने ठूलो अलैँचीको मूल्य २ हजार ८०० रुपैयाँसम्म पुगेको छ ।’

उनले खुर्सानीको धुलोको मूल्य पनि उल्लेख्य रूपमा बढेको बताए । ‘भान्सामा नभई नहुने खुर्सानीको धुलो जुन १५० देखि २०० रुपैयाँ प्रतिकिलो पाइन्थ्यो, आज त्यसको मूल्य ६०० रुपैयाँ पुगिसकेको छ,’ उनले भने । पेट्रोलियम पदार्थ र ग्यास संवेदनशील वस्तु भएकाले त्यसमा सबैको ध्यान जानु स्वाभाविक भए पनि अन्य दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले पनि सर्वसाधारणको जनजीवन प्रभावित भएको दुगडको भनाइ छ ।

ग्यासको आपूर्तिमा मात्र केन्द्रित हुँदा अन्य खाद्य वस्तुको आपूर्ति तथा बढ्दो महँगी नियन्त्रणका प्रयासहरू ओझेलमा परेको उनले बताए । बजारको वास्तविकता आफूले खाद्य उद्योग सञ्चालनका क्रममा नजिकबाट नियालिरहेको उल्लेख गर्दै दुगडले दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन र मूल्य नियन्त्रण गर्न सरकार तथा सञ्चारमाध्यमले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट