
दिपायल । जिल्लामा एक वर्षको अवधिमा आठ करोड रुपैयाँको सुन्तला उत्पादन भएको छ । यहाँ उत्पादित अधिकांश सुन्तला अन्य जिल्ला निर्यात गरिएको हो । आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा तीन हजार चार सय आठ दशमलव ६२ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
उक्त सुन्तला बिक्री गरेर कृषकले आठ करोड रुपैयाँ आम्दानी गरेका केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिए । यस वर्ष दुई सय ६२ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको थियो । आव २०७८/७९ मा सुन्तला उत्पादन दुई हजार नौ सय ३२ मेट्रिक टन रहेको थियो भने आव २०७९/८० मा उत्पादन बढेर तीन हजार दुई सय ४० मेट्रिक टन पुगेको अवस्थीले बताए ।
जेरायल गाउँपालिका–५ र ६, बोगटान गाउँपालिका–१, २, ७ र बडीकेदार गाउँपालिका–१ पातल मुडा रजेडा, वडा नं २ को छेडा, कोटक्यान्या, वडा नं ४ को खेताली टिमुट्ट, रनुकाँडा, पुन्तडा र वडा नंको ५ को लानाका बस्तीमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको केन्द्रले जनाएको छ । डोटीमा उत्पादित अधिकांश सुन्तला अत्तरिया, धनगढी, महेन्द्रनगर, नेपालगञ्जका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका किसान बताउँछन् ।
जिल्लामा सुन्तला उत्पादनलाई बढाउन र किसानलाई प्रोत्साहन गर्न केन्द्रले सुन्तला टिप्न सिडी, क्रेट, कैँची लगायतका आवश्यक विभिन्न सामग्रीहरू सहयोग गर्दै आइरहेको छ । आगामी दिनमा कृषि उपजलाई ‘ब्रान्डिङ’ गरी बाहिर निर्यात गर्न आवश्यकता अनुसारका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको केन्द्रका प्रमुख अवस्थीले उल्लेख गरे ।
सुन्तला उत्पादनको हिसाबले डोटीको बडीकेदार गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका र जोरायल गाउँपालिका बढी प्रख्यात मानिन्छन् । जिल्लाका अन्य स्थानीय तहहरूमा पनि उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । डोटीमा सुन्तला उत्पादन गर्ने किसानहरूले सामान्य रूपमा एक जनाले ४० हजार रुपैयाँदेखि १५ लाखसम्मको सुन्तला बिक्री गर्दै आइरहेका छन् ।
केन्द्रका प्रमुख अवस्थीका अनुसार पछिल्लो समयमा कृषि उपज संकलनका लागि व्यापारीहरू किसानको घरदैलोमा आउने गरेकाले उत्पादित सुन्तलासहित अन्य कृषि उपजका लागि बजारीकरणको समस्या छैन । सुदूरपश्चिमका मुख्य सहरहरूमा सुन्तलाको बजार मूल्य प्रतिकिलो एक सय रुपैयाँमा बिक्री हुने गरेको छ भने किसानहरूले तुलनात्मक रूपमा प्रतिकिलो ५० देखि ६१ रुपैयाँका दरले बारीमा बिक्री गर्दै आएका छन् ।













समाचार
उद्योगमन्त्री भन्छिन्- सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ
यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ
नेपाली फूललाई विश्व बजारसम्म पुर्याउने गरी नीति तथा कार्यक्रम आवश्यक: अध्यक्ष श्रेष्ठ
कालिञ्चोक दर्शनको लाभांश घोषणा
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब माथि
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
तादी खोलामा ६० मिटर लामो फलामे पुल जडान, नेपाली सेनाले भोलिसम्ममा काम सक्ने
विस्फोटक पदार्थसहित एक जना पक्राउ
दैलेखको भम्लु खोलामा सुख्खा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध