चौथो एशियन बुद्धिस्ट सांस्कृतिक महोत्सव सम्पन्न

लुम्बिनी, चौथो एशियन बुद्धिस्ट सांस्कृति महोत्वस २०२५ विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । महोत्सवमा बौद्ध धर्मका विभिन्न धार्मिक अनुष्ठान र प्रवचन र विभिन्न कार्यक्रम सहित सम्पन्न भएको हो ।बुद्ध धर्मका प्रवर्तक सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव २०२५ तीन दिनसम्म चल्यो। महोत्सवले विश्वभरका बौद्ध धर्म अनुयायीहरू, विद्वानहरू, युवाहरु र संस्कृति अनुरागीहरूको ऐतिहासिक सहभागिता जनायो।

प्रधानमन्त्री केपी ओलीको प्रमुख आअतिथ्यता रहेको कार्यक्रममा पर्यटन मंत्री,लुम्बिनी प्रदेशका मुख्य मन्त्री लगायत अतिथिहरुको सहभागिता रहेको थियो । महोत्सवमा ५० भन्दा बढी देशका प्रतिनिधि सहभागी भएका छन् । महोत्सवको शुभारम्भ लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा भएको हो । महोत्सव बौद्धदर्शन र संस्कृतिको प्रवद्र्धन गरी विश्वमाशान्ति, सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले सारिपुत्र फ़ाउण्डेशनको आयोजनामा नेपाल सरकार लुम्बिनी विकास कोष,चाइनिज कल्चर प्रोमोशन सोसाइटी,लुम्बिनी विश्व विद्यालय,वर्ल्ड एलायन्स फर बुद्धिस्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वुजोउ पीस कलिग्राफी एण्ड पेन्टिङ एकेडेमी सस्थाहरुको सहकार्यमा सम्पन्न भएको हो।

यस महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले २६ अप्रिलमा एक विशेष समारोहका बीच गरे। प्रधानमन्त्री ओलीले उद्घाटन समारोहमा विश्वमा द्वन्द्व र द्वेष बढिरहेको सन्दर्भमा बुद्धले देखाएको अहिंसा, शान्ति र करुणाको मार्ग पछ्याउनु आजको आवश्यकता भएको बताउँदै लुम्बिनीलाई अन्तर्राष्ट्रिय अध्यात्मिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न यस्ता कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे ।

समुद्घाटन कार्यक्रम पस्चात महोत्सवको पहिलो दिनको, साँझमा लिटिल बुद्धको परिसरमा आयोजित “महादीप प्रज्वलन कार्यक्रम” विशेष आकर्षण बन्यो। सारिपुत्र फाउण्डेशन र लुम्बिनी विकास कोषको सहकार्यमा आयोजित यस कार्यक्रममा ६०,००० बत्ती बालिएको थियो, जसले करुणा, शान्ति र एकताको सन्देश विश्वभर फैलाएको थियो। हजारौं भिक्षु, भिक्षुणी, अतिथि तथा भक्तजनहरू यस अवसरमा उपस्थित थिए।र हालै म्यानमारमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्पका पीडितहरूप्रति श्रद्धाञ्जली र प्रार्थना पनि गरिएको थियो।

त्यसैदिन साँझ मायादेवी मन्दिर परिसरमा आयोजित “शान्तिका लागि समर्पित साँझ” कार्यक्रममा भक्तजनहरूले दीप प्रज्वलन गर्दै भगवान बुद्धको जन्मस्थलमा शान्तिको कामना गरे।
२७ अप्रिलमा महोत्सवको दोस्रो दिन रामग्राम स्तूपमा विशेष प्रार्थना र दीप प्रज्वलन कार्यक्रम सम्पन्न भयो। भगवान बुद्धको अवशेष रहेको एकमात्र अक्षुण्ण स्तूपको रुपमा रहेको रामग्राममा हजारौं श्रद्धालुहरू जम्मा भई बत्ती बालेर शान्तिको कामना गरे। सो समारोहले बुद्ध धर्मको संरक्षण र समर्पणको सन्देश संसारभरि प्रवाह गर्‍यो।

२८ अप्रिलको अन्तिम दिन दिउसो मधुबनमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। मधुबन लुम्बिनीको एक शान्त र सुन्दर स्थान हो, जहाँ ध्यान गर्न, बुद्धको देशना बुझ्न र शान्ति अनुभव गर्न आउँछन्। वरपरको हाराभरा हरियालीले ढाकिएको यस ठाउँमा महोत्सवको लागि देश–विदेशबाट आएका सहभागीहरूबीच प्रार्थना, धन्यवाद र मित्रताको भावना साटासाट गर्ने अवसर निर्माण भएको थियो।
मधुवन पश्चात महोत्सवको समापन समारोह तिलौराकोटमा सम्पन्न भयो। तिलौराकोट, बुद्धको बाल्यकालको मत्त्वपूर्ण क्षेत्र र शाक्य वंशको ऐतिहासिक राजधानी हो।यो धार्मिक र एतिहासिक स्थानमा आयोजित “समापन तथा दीप प्रज्वलन कार्यक्रम” मा पनि नेपाल लगायत र विश्वका विभिन्न देशबाट आएका भिक्षु, भिक्षुणी, धर्म मित्रहरू, बुद्धका अनुयायीहरु, समाजका अगुवाहरु र स्वयम्सेवकहरू लगायतहरुको बाक्लो सहभागी रह्यो ।

समापन समारोहमा आयोजक संस्था सारिपुत्र फाउण्डेशन,नेपाल सरकार लुम्बिनी विकास कोष,चाइनिज कल्चर प्रोमोशन सोसाइटी,लुम्बिनी विश्व विद्यालय,वर्ल्ड एलायन्स फर बुद्धिस्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वुजोउ पीस कलिग्राफी एण्ड पेन्टिङ एकेडेमी र नेपालका बौद्ध संघ संस्थाका प्रतिनिधिहरूले पनि सहभागिता जनाए।
यस महोत्सवमा चीन, थाइल्याण्ड, श्रीलङ्का, क्याम्बोडिया, म्यानमार, भूटान, जापान, दक्षिण कोरिया, भारत लगायत ५० भन्दा बढी राष्ट्रका प्रतिनिधिहरू सहभागी थिए।

सारीपुत्र फ़ाउण्डेशनका अध्यक्ष भन्ते सुमंगलोका अनुसार यो महोत्सवको आयोजना सन् २०११ मा पहिलो पटक क्याम्बोडियाबाट सुरु भएको थियो र त्यसयता श्रीलङ्का, थाइल्याण्ड हुँदै यसपटक नेपालको लुम्बिनीमा चौथो संस्करण सम्पन्न भएको हो। यस आयोजनाले लुम्बिनीको मात्र नभई रामग्राम, मधुवन र विशेष गरेर तिलौराकोटको अन्तर्राष्ट्रिय स्तरमा उच्च तहमा प्रचार हुन सहयोग पुगेको बताए। यसका साथै स्थानीय पर्यटन र आर्थिक विकासमा समेत टेवा पुगेको र पुर्‍याउने अपेक्षा गरिएको बताए।
चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवले आध्यात्मिक एवं सांस्कृतिक प्रभाव मात्र छोडेन, विश्व समुदायमा करुणा, सहिष्णुता र शान्तिको सन्देश दिने एउटा उदाहरणीय प्रयासका रूपमा लिइएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार