
देउखुरी । घोराही उपमहानगरपालिका–६ का मिकसर चौधरीले २२ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेका छन् । उनले दुई वटा दुहुना भैँसी र आठ वटा भेँडा पालेका छन् । कात्तिकदेखि वैशाखसम्म हरियो घाँस काटेर भैँसी र भेँडालाई खुवाउने र बीउ बिक्री पनि गरिरहेको उनले बताए । गत वर्ष रु दुई लाखको घाँसको बीउ बिक्री गरेको चौधरीले जानकारी दिए । यस वर्ष पनि प्रशस्त दाना लागेको भन्दै गत वर्षभन्दा बढी आम्दानी हुने उनले विश्वास व्यक्त गरे ।
‘बर्सिम घाँस खेतमा छर्न थालेपछि हिउँदको समयमा घाँस खोज्न जान परेको छैन, समयको बचत भएको छ । हरियो हुँदा घाँस खुवाउन पनि पाइने र त्यसको दानालाई बीउका रूपमा बिक्री हुन्छ’, उनले भने । उनका अनुसार दाङका किसानले घाँसको बीउ बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका छन् ।
घोराही–६ का प्रेम चौधरीले तीन वटा भैँसी, एउटा गाई र छ वटा बाख्रा पालेका छन् । उनले भने, ‘१९ कट्ठा खेतमा बर्सिम घाँस छरेको छु, वस्तुभाउलाई घाँस खुवाउन सहज भएसँगै पशुपालन सजिलो भएको छ । हिउँदमा हरियो घाँस खाएर भैँसीले दूध पनि बढाएका छन् ।’
घरमा बीउ उत्पादन गरेर बर्सेनि घाँसखेती गर्ने गरिरहेको भन्दै प्रेमले घाँसका लागि पशुपालक किसानको घाँसखेतीमा आकर्षण बढेको जानकारी दिए । ‘वर्षात्को समयमा लगाएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर यो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ, कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन्’, उनले भने । गत वर्ष रु ९० हजारको घाँसको बिउ बिक्री गरेको जनाउँदै प्रेमले यस वर्ष रु एक लाखभन्दा बढीमा बिक्री हुने अनुमान गरेको बताए ।
घोराही–५, ६, ७, ८ र १७ का कृषकले १५ कट्ठादेखि २५ कट्ठासम्ममा घाँसखेती गरेका घाँस बीउ उत्पादक सङ्घले जनाएको छ । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको सङ्घका सचिव विमल अधिकारीले जानकारी दिए । घोराही–६ को गुरुवागाउँ, गुरगै, जजरागाउँ, बेरुवागाउँ, बेरगै, फचकपुर र अघरा तथा घोराही–१७ को कर्जाही र गैरागाउँका किसानले विगत १० वर्षदेखि बर्सिम घाँसखेती गरिरहेका उनले जानकारी दिए ।
‘यसलाई ‘ग्रिनगोल्ड’का नामले पनि चिनिन्छ । यो खेती गर्ने किसानलाई दोहोरोतेहोरो फाइदा हुन्छ । हरियोमा घाँस खुवाउन पाइने, सुकेको डाँठ पनि खुवाउन पाइने र दाना पनि बिक्री गरेर नगद आम्दानी गर्न पाइने भएपछि दाङका सबैजसो पालिकाका किसानले यो घाँसखेती गर्न थालेका छन्’, अधिकारीले भने । गत वर्ष घाँसको दाना बिक्री गरेर किसानले रु दुई लाख ९० हजारदेखि रु तीन लाखसम्म आम्दानी गरेका छन् । यो घाँस खाएका पशुले दूध उत्पादन बढाउने गरेकाले अत्यन्तै लाभकारी भएको अधिकारीले बताए ।













समाचार
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
तादी खोलामा ६० मिटर लामो फलामे पुल जडान, नेपाली सेनाले भोलिसम्ममा काम सक्ने
विस्फोटक पदार्थसहित एक जना पक्राउ
दैलेखको भम्लु खोलामा सुख्खा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध
बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन
मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
देशभर मनसुन सक्रिय, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर