बागलुङको गाजादहमा थपिए पर्यटकीय पूर्वाधार, बढ्यो चहलपहल

गलकोट । बागलुङको गाजादह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा अस्थित छ। धार्मिक रूपमा महत्त्वपूर्ण क्षेत्र मानिएको गाजा दहमा पछिल्लो समय पर्यटकीय पूर्वाधार थपिन थालेका छन्। जैमिनी नगरपालिका–३ मा पर्ने गाजादह बागलुङको गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाको शिरमा पर्छ। यहाँ जैमिनी नगरपालिका र स्थानीयको अगुवाइमा ताल संरक्षण, पूर्वाधार तथा सिद्ध बराहको मन्दिर निर्माणलगायत पूर्वाधार थपिँदै गएका हुन्।

अहिले मन्दिर निर्माणको चरणमा रहेको छ भने गाजादहलाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्नेगरी झुलासहितको पूर्वाधार गत वर्ष निर्माण गरिएको जैमिनी नगरपालिकाले जनाएको छ। ताल वरपर परम्परागत शैलीमा ढुंगा छपाएर रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ। गाजादहमा पूर्वाधार निर्माण गर्न महायज्ञ लगाएर सहयोग रकमसमेत संकलन गरिएको जैमिनी–३ का वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए।
प्रदेश र स्थानीय सरकारले पूर्वाधार निर्माणमा सामान्य सहयोग गरे पनि थप पूर्वाधार निर्माणका लागि महायज्ञमार्फत ७२ लाख रुपैयाँ संकलन गरिएको जानकारी दिए। अहिले दहभित्र २० फिटको सिद्ध बराहको मन्दिर निर्माण भइरहेको छ। स्थानीयको १० लाख रुपैयाँ र महायज्ञको १० रुपैयाँ लाख गरी २० लाख रुपैयाँ लागतमा सिद्ध बराहको मन्दिर निर्माण थालिएको उनको भनाइ छ।

‘त वर्ष ३ लाखको लागतमा नगरले दहमा दृश्यावलोकनस्थल निर्माण गरेको थियो। अहिले सिद्ध बराहको मन्दिर निर्माण थालिएको छ, पदमार्गसहित संरचना थपिएका छन्। पूर्वाधार थपिँदा शौन्दर्यकरणमा वृद्धि भएको छ, ताल संरक्षण मुख्य चुनौती हो,’ भुजेलले भने, ‘धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिएको यस दहमा आन्तरिक पर्यटकको आगमन वृद्धि भएको छ। अहिले गुराँसको वनभित्रको ताल मनमोहक देखिन्छ।’ गाजा दहमा सदरमुकाम बागलुङ बजारबाट २४ किलोमिटरको यात्रा पूरा गरेपछि पुग्न सकिन्छ। यहाँ रहेको सिद्ध बराहको थानमा जैमिनी, गलकोट, बागलुङ, काठेखोला र बरेङका बासिन्दा नियमित पूजा गर्छन्। गाजादहबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत एक दर्जन हिमशृंखला देख्न सकिने यहाँ पुगेका हिमाल सुवेदीले बताए। दह पुग्ने सडक थप स्तरोन्नति गर्नुपर्नेमा उनको जोड छ।

सिँगानासम्म कालोपत्र सडक पुगे पनि त्यहाँबाट १४ किमी स्तरोन्नति हुन बाँकी छ। हरेक वर्ष सिद्धथानमा वैकुण्ठ चतुर्दशी तथा बाला चतुर्दशीमा परम्परागत मेला लाग्ने भएकाले दहको महत्त्व बढ्दै गएको वडाध्यक्ष भुजेलले उल्लेख गरे। ‘यहाँ बाला चतुर्दशीमा सतबिज छर्नेको घुइँचो लाग्ने गर्छ। चिसो हावापानीमा गाजा दहको काखमा बसेर घरबासको स्वादिष्ट परिकार खान पाउने व्यवस्था मिलाइएको छ। गण्डकी प्रदेश सरकारले दहलाई एक सय पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ,’ उनले भने।

महायज्ञमा संकलन भएको रकम पर्यटकीय पूर्वाधार निर्माणमा खर्च गरिने जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए। दहको प्रचारप्रसार र प्रवद्र्धनमा पालिकाले सघाउँदै आएको उल्लेख गरे। धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको दहको समग्र विकासका लागि पालिकाले गुरुयोजना बनाउने उनको भनाइ छ। प्रचारप्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रवद्र्धन गर्न यहाँका स्थानीय अग्रसर भएपछि पूर्वाधार निर्माणले गति लिन थालेको हो। दहको धार्मिक र ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, संरक्षण गर्दै ताल परिसरमा सिद्ध बराह भगवान्को पूर्णकदको मूर्ति निर्माण गर्नेलगायत उद्देश्य बनाइएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार