बैतडी । हुरी र असिनापानीका कारण बैतडीमा एक जना घाइते भएका छन् । सोमबार बेलुका आएको हुरीसँगैको वर्षाले जिल्लाका विभिन्न क्षेत्रमा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
हुरीले सिँगास गाउँपालिका–२ मैतडका विष्णु बोहराको दुईतले जस्तापाताले छाएको घरको छाना उडाएको छ । छाना उडाउँदा जस्तापाता लागेर घरभित्र बसिरहेका १४ वर्षीय टेकेन्द्र बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । टेकेन्द्रको टाउकोमा चोट लागेको छ ।
उनका अनुसार सिँगास–५ खैरकोट, सल्याली, ढुङ्गाडका केही घरमा पनि हुरीले क्षति पुगेको छ । पाटन नगरपालिका–८ धारीमा एकतले जस्तापाताले छाएको सामुदायिक भवनको छानो उडाएको छ । सो भवनको छानो उडेर नजिकै रहेको विनोद महराको घरबाहिर बाँधेको पाडोलाई लागेर मृत्यु भएको प्रहरी निरीक्षक बडूले बताए ।
हुरीले रुख ढल्दा डिलाशैनी गाउँपालिका–६ नेगाउस्थित निङ्लासैनी आधारभूत विद्यालयको शौचालयमा क्षति पुगेको छ । असिनापानीले फलफूल र तरकारीमा क्षति पुगेको दोगडाकेदार गाउँपालिका–४ का उमेश भट्टले जानकारी दिए । यसअघि गत चैत अन्तिम साता पनि असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी र बेर्नामा क्षति पु¥याएको थियो ।