काठमाडौं । सरकारले अनुमान गरेभन्दा विपरित विद्युतीय गाडीमा लाग्ने कर यथावत राखेको छ । पछिल्ला वर्षहरुमा हरेक वर्ष बजेटमा विद्युतीय गाडीको कर बढ्ने अनुमानले गर्दा व्यवसायीले बजेट अगाडि विद्युतीय गाडी अत्याधिक आयात गर्ने गरेका थिए । अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय गाडीमा कर यथावत राखेको बताए ।
‘विद्युतिय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरी वातावरण प्रदुषणलाई न्यूनिकरण गर्न र विद्युतको आन्तरिक खपत बढाउन त्यस्ता सवारी साधनमा लाग्दै आएको सबै प्रकारका कर तथा महशुल यथावत राखेको छु ।’मन्त्री पौडेलले भने । पछिल्लो समय हाइब्रिड गाडीमा कर घट्ने र विद्युतीय गाडीमा बढ्ने अनुमान थियो ।
कर बढ्ने अनुमानको कारण पछिल्लो डेढ महिनामा ५ हजारभन्दा बढी गाडी आयात भएको थियो। तर,गाडीमा पनि अर्थमन्त्रीले कर बढाउने घटाउने कुनैपनि नीति लिएनन् । पछिल्लो समय इभीमा प्रतिस्पर्धाको कारण मूल्य अझै घट्न सक्ने अनुमान गरिएको छ ।