पाँच महिनामा ५ लाख बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२५ को पहिलो पाँच महिनामा विदेशबाट ५ लाख भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि मे महिनासम्म ५ लाख १ हजार २६४ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।

यो अवधिसम्ममा विदेशबाट नेपालमा औसत मासिक १ लाख भन्दा बढीका दरले पर्यटक आगमन भइरहेको हो । पाँच महिनाको अवधिमा औषतमा मासिक १ लाख २५२ जना पर्यटक नेपाल आइरहेको तथ्यांक छ । नेपालमा पर्वतारोहणको मुख्य सिजन मानिने मे महिनामा पर्यटक आगमन घटेको छ । मे २०२५ मा ८६ हजार २१६ जना पर्यटक नेपाल आएका छन् । यो सन् २०२४ को यसै महिनाको तुलनामा ९५.६ प्रतिशत मात्र हो । अघिल्लो वर्ष ९० हजार २ सय ११ जना पर्यटक मे महिनामा आएका थिए । यसरी गिरावट आउनुमा भारतीय पर्यटक आगमन घट्नु मुख्य कारण रहेको छ ।

मे २०२५ मा भारतीय पर्यटक २८ हजार १६० जना आएका छन् । अघिल्लो वर्ष यसै महिनामा भारतीय पर्यटकको संख्या ३८ हजार २८८ रहेको थियो । यस महिनामा चीनबाट ८ हजार ८२४ पर्यटक आएका छन् । अघिल्लो वर्ष यो संख्या ८ हजार ३८१ रहेको थियो । अमेरिकाबाट ९ हजार ७४ जना पर्यटक आएको तथ्यांक छ । अघिल्लो वर्ष अमेरिकाबाट ८ हजार ५२७ पर्यटक आएको तथ्यांक बोर्डको छ ।

भारतीय पर्यटकको संख्या कम हुँदा सार्क मुलुकको आगमन यस महिनामा २१.६ प्रतिशतले घटेको छ । सार्क मुलुकबाट कुल ३४ हजार ३५० पर्यटक आएका छन् । अन्य एसियाली मुलुकबाट हुने आगमन ११ प्रतिशतले बढेको छ । युरोपको १३.६, ओसियाना मुलुकको १८.७ प्रतिशत, अमेरिकी मुलुकबाट ७.८ प्रतिशत, मध्यपूर्वी मुलुकबाट ३२.५ प्रतिशत आगमन सुधार भएको छ । अफ्रिकी मुलुकबाट हुने आगमन भने १२.५ प्रतिशतले खस्किएको तथ्यांक छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार