
गोरखा । गोरखाको मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार गरिएको छ । उक्त क्षेत्रबाट आइतबार ११० जना पर्यटकको उद्धार गरिएको छ । घाइते, बिरामी तथा खराब मौसमका कारण गन्तव्यतर्फ जान नसकेका पर्यटकको उद्धार गरिएको हो ।
‘मौसम खुल्नासाथ उद्धार कार्य सुरु गरेका थियौँ’, निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भने, ‘पाँच हेलिकोप्टरमार्फत पर्यटकको उद्धार गरियो । जसमध्ये ८५ प्रतिशत विदेशी पर्यटक थिए ।’
मौसम सफा भएसँगै केही पर्यटक लार्केपास गरी मनाङ झरेका छन् । केही भने आरुघाटतर्फ फर्कंदै गरेका सहायक प्रजिअ बरालले जानकारी दिए । एकदुई दिनभित्रमा उद्धारकार्य सम्पन्न हुने उनको भनाइ छ । आज मौसम खुलेपछि गाउँपालिका, मनास्लु संरक्षण क्षेत्र आयोजना, होटल व्यवसायी उपसमिति, स्थानीय युवा मिलेर बाटो खोल्ने काम गरिरहेका चुमनुब्री गाउँपालिका–१ साम्दोका पर्यटन व्यवसायी निमा दोर्जे लामाले बताए ।
उनीहरु गत मङ्गलबारदेखि परेको हिमपातले ढाकिएका र पहिरोले पुरिएका बाटो सफा गर्न गएका उनले जानकारी दिए । ‘आज कतिपय पैदलमार्फत आरुघाटतर्फ झरे । बिरामी, अशक्तलाई हेलिकोप्टरबाट उद्धार गरियो । तीन सय ८० जना भने साम्दोबाट लार्केपास गर्न धर्मशालातर्फ गएका छन् । उनीहरु लार्केपास गरेर मनाङ झर्छन्’, पर्यटन व्यवसायी लामाले भने । साम्दोमा पर्यटक आउने क्रम नरोकिएको उनको भनाइ छ ।
यो याममा (भदौ १६ देखि कात्तिक १५ सम्ममा) छ हजार ४१४ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका मनास्लु संरक्षण क्षेत्र आयोजनाको तथ्याङ्कमा उल्लेख छ । हाल उक्त क्षेत्रमा सयौँ पर्यटक रहेका छन् ।
तातोपानीबाट ३५ पर्यटकको उद्धार
गोरखाको तातोपानी क्षेत्रमा अलपत्र परेका ३५ स्वदेशी तथा विदेशी पर्यटकको उद्धार गरिएको छ । धार्चे गाउँपालिका–३ तातोपानीबाट नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले २० विदेशी र १५ नेपाली पर्यटकको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनीहरु सामागाउँबाट माछीखोलातर्फ आउने क्रममा पहिरोका कारण तातोपानीमा अलपत्र परेका हुन् ।
पर्यटक अलपत्र परेको जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस आरुघाटबाट खटिएको टोलीले उनीहरूको उद्धार गरी माछीखोलातर्फ पठाइएको थियो । उद्धार गरिएका पर्यटकको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।













समाचार
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज
वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा
बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने
विदेशबाट फर्किएका युवा भेडापालनमा
पौवादुङमामा किसान र पालिकाको साझेदारीमा ‘गाई–भैंसी पकेट कार्यक्रम’
आज प्रतिनिधिसभाको बैठक बस्दै
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन