काठमाडौं । नेपाल विद्युत प्राधिकरणकी अम्बिका सापकोटा र नेपाल कृषि विकास बैंककी दीपिका राई १४ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । हात्तिगौडास्थित ¥र्याकट एन्ड रोल ब्याडमिन्टन हलमा भएको खेलमा अम्बिकाले कृषिकी प्रतिक्षा नेपाललाई २१–१७ र २१–१६ तथा दीपिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणकी सरला श्रेष्ठलाई २१–११ र २१–१२ को सोझो सेटमा पराजित गरे ।
पुरुष सिंगल्समा विद्युत प्राधिकरणका भक्तराज जोशीले कृषिका टक्कर कुँवरलाई २१–१९ र २१–१४ तथा विद्युतकै मंगेश तामाङले नागरिक उड्डयनका कालजंग लामालाई १९–२१, २१–१६ र २१–५ को सेटमा हराउदै फाइनलमा स्थान पक्का गरे । कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा विद्युतका रत्न श्रेष्ठले नागरिक उड्डयनका देवेन्द्रप्रसाद पाण्डेलाई २२–२४, २१–११ र २१–११ तथा विद्युतका राजु महर्जनले नेपाल वायु सेवा निगमका घनश्याम भट्टलाई २१–१३ र २१–११ ले पाखा लगाउदै फाइनलमा पुगे ।
एक्जिक्युटिभ डबल्समा विद्युतका बासु कोलोनी र लोकेन्द्र साउदको जोडी तथा विद्युतकै विष्णु गैरे र युकेश श्रेष्ठको जोडीले फाइनलमा स्थान बनाए । पुरुष डबल्समा कृषिका टक्कर कुँवर र राजकुमार निरौला तथा विद्युतका विनोद अधिकारी र भक्तराज जोशीले फाइनल भेट पक्का गरे । भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा विद्युतका राजु महर्जन र रत्न श्रेष्ठ तथा विद्युत छविलाल भट्टराई र विष्णु मास्केको जोडीले फाइनलमा स्थान सुरक्षित गरे ।