काठमाडौं । २०८२ सालको जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष सोही महिनामा यो दर ४.१७ प्रतिशत थियो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनासम्मको तथ्यांकमा यो विवरण उल्लेख गरिएको छ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशतमा सीमित रहँदा गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.८५ प्रतिशत र ३.०७ प्रतिशत थियो। खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको मूल्य सूचकाङ्क १०.०६ प्रतिशतले, गैर-मदिराजन्य पेय पदार्थको ५.१३ प्रतिशतले, फलफूलको ३.५१ प्रतिशतले र दाल तथा गेडागुडीको २.८५ प्रतिशतले वृद्धि भएको छ।
तरकारी उप–समूहको सूचकाङ्क भने ७.०४ प्रतिशतले घटेको छ। त्यसैगरी मरमसलाको ३.०६ प्रतिशत र माछा तथा मासुको २.९१ प्रतिशतले मूल्य घटेको देखिएको छ। प्रदेशगत रूपमा हेर्दा, २०८२ जेठ महिनामा सबैभन्दा बढी मुद्रास्फीति कोशी प्रदेशमा ४.१८ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा १.७५ प्रतिशत देखिएको छ। मधेश प्रदेशमा २.५२ प्रतिशत, बागमतीमा २.२९ प्रतिशत, लुम्बिनीमा २.३९ प्रतिशत, कर्णालीमा २.५४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ३.८६ प्रतिशत मुद्रास्फीति दर रहेको छ।