पाँच अर्ब लगानीमा चम्पादेवी केबलकार बन्ने, को–को छन् लगानीकर्ता ?

काठमाडौं । पाँच अर्ब लगानीमा काठमाडौंको कीर्तिपुरमा चम्पादेवी केबलकार बन्ने भएको छ । कम्पनीले वन तथा वातावरण मन्त्रालयलाई वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेर पेस गरेको छ ।

कम्पनीले २.०७५ किलोमिटर लम्बाइको केबलकार बनाउने जनाएको जानकारी दिएको छ । उक्त केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् । यसैगरी, प्रतिगोन्डोलाको क्षमता १० जना रहेको छ । उक्त कम्पनीले दैनिक ५ हजार यात्रुलाई सेवा दिने लक्ष राखिएको छ । चम्पादेवी इको फ्रेण्डली कम्पनी प्रालिले कीर्तिपुर नगरपालिकाको वडा नं ४ मा चम्पादेवी केबलकार बनाउन लागेको हो । कम्पनीले माथिल्लो स्टेसन कीर्तिपुर नगरपालिकाको वडा नं ४ मा हुनेछ भने तल्लो स्टेशन दक्षिणकाली नगरपालिका वडा नं १ मा निर्माण हुने गरी प्रस्ताव पेश गरेको छ ।

प्रस्तावित प्रतिवेदनअनुसार केबलकार आयोजना निर्माण गर्न ५ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ । कम्पनीले केबलकारमा प्रतिदिन ५ हजार पर्यटक आउने उल्लेख गरेको छ । साथै, कम्पनीले २ वर्षमा निर्माण सम्पन्न गर्ने योजना बनाएको छ । परियोजनाले कुल ५ हेक्टर वन क्षेत्र उपयोग गर्नेछ, जसमा सेतो लालीगुराँस, बाँझ, अिंगेरी, लगायतका वनस्पति र चराचुरुङ्गीको आवासस्थल प्रभावित हुने बताइएको छ । यसका लागि रुख फँडानीको सट्टा १० गुणा वृक्षरोपण, वनजन्तु संरक्षण, डस्ट र नाइट्स पोल्युशन नियन्त्रणजस्ता उपाय प्रस्ताव गरिएको छ ।

निर्माण तथा सञ्चालन चरणमा पर्यावरणीय व्यवस्थापनको लागि करिब ६ करोड ६६ लाख रुपैयाँ छुट्याइएको छ । त्यसमध्ये सामाजिक उत्तरदायित्व अन्तर्गत ९१ लाख रुपैयाँ स्थानीय विकास र सेवामा प्रयोग गरिनेछ । आयोजनाबाट ३१२ जनालाई स्थायी र ३०० जनालाई अस्थायी रोजगारी सिर्जना हुने कम्पनीले उक्त प्रतिवेदनमा उल्लेख गरेको छ । स्थानीयलाई प्राथमिकता दिने व्यवस्था प्रतिवेदनमा उल्लेख गरिएको छ । यो केबलकार परियोजनामा विशाल ग्रुप, संघई परिवार र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालको मुख्य लगानी रहने छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार