
बागलुङ । गएको शनिबार बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा बाक्लो हिमपात हुँदा मध्यपहाडी लोकमार्गका धेरै यात्रीले खान बस्ने सुविधा नहुँदा सास्ती खेपेका छन् । हिमपातले सडक अवरुद्ध हुँदा यात्रुहरूले सवारी साधनमा भोकै रात बिताएका छन् । पातिहाल्नेमा जम्मा दुई वटा होटल सञ्चालनमा छन् । ती होटलले यतिधेरै यात्रुलाई सेवा दिन सम्भव थिएन ।
प्राकृतिमा रमाउन चाहने आन्तरिक पर्यटक दैनिकजसो पातिहाल्नेमा पुग्ने गर्छन् । पातिहाल्ने मात्र होइन, निसीखोलाको ग्रामीण जीवनशैलीलाई नजिकबाट नियाल्न पछिल्लो समय पर्यटक त्यहाँ पुगिरहन्छन् । निसीखोला गाउँपालिकाबिच भाग हुँदै मध्यपहाडी लोकमार्ग बनेपछि झिंवाखोला, निसीगाउँ, अर्नाकोट, भल्कोट लगायतका ठाउँले पर्यटकलाई आकर्षित गरेका छन् ।
सडक सञ्जालसँग जोडिएपछि गुमनामजस्तै रहेको नेपालको एक मात्र शिकार आरक्ष रहेको ढोरपाटन उपत्यकादेखि बुकीको फन्को मार्ने पर्यटकको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दो छ । ढोरपाटन पुग्ने पर्यटक चाहेजस्तो सेवासुविधा नपाउँदा बुर्तिवाङ बजार फर्किएर बास बस्नुपर्ने अवस्था छ । निसी र ढोरपाटन पुग्ने पर्यटकलाई सेवा दिनेगरी सो क्षेत्रमा घरबास सञ्चालनको तयारी भइरहेको छ ।
आरक्ष र पश्चिम बागलुङका पर्यटकीय क्षेत्र पुग्ने पर्यटकका लागि व्यवस्थित होटल तथा रेष्टुराँ नरहेको र एकाद सञ्चालनमा रहेका घरबासले आवश्यकता पूर्ति गर्न नसकेपछि पर्यटन प्रवर्धन परियोजनामार्फत निसी र ढोरपाटन क्षेत्रमा ३० वटा घरबास सञ्चालनको तयारी थालिएको हो ।
‘घरबास चलाउन युवाहरूलाई तालिम दिने, घरबासका लागि आवश्यक सामग्री तथा पूर्वाधार निर्माणमा सहयोग गर्ने काम सुरु भइसकेको छ’ परियोजना निर्देशक अमर थापाले भने ।
ढोरपाटन र निसीमा दिगो पर्यटनका लागि चार वर्षसम्म पर्यटन प्रवर्धन परियोजना सञ्चालन हुनेछ । ३० वटा घरबास सञ्चालनको तयारीमा जुटिरहेको परियोजनाले हालसम्म ५ वटालाई सहयोग गरिसकेको छ । परियोजनामार्फत ढोरपाटन र निसीखोलाका १२ विद्यालयमा ई–लाइब्रेरीका लागि ल्यापटप लगायतका सामग्री वितरण गरिएको निर्देशक थापाले जानकारी दिए ।
‘ढोरपाटन र निसी बागलुङका मुख्य पर्यटकीयस्थल हुन्, त्यहाँ पूर्वाधारको विकास गर्नसके पर्यटनमार्फत आर्थिक समृद्धिमा पुग्न सकिन्छ’ जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले भन्नुभयो, ‘ढोरपाटनमा पुग्ने पर्यटकलाई स्थानीय खानाका परिकार र कला तथा संस्कृतिले स्वागत गर्न ढिला गर्नु हुँदैन ।’
दिगो पर्यटन प्रवर्धन कार्यक्रमले ग्रामीण क्षेत्रमा पर्यटक भित्र्याउन र स्थानीयको आयआर्जन वृद्धि गर्न सहयोग पुग्ने थापाको विश्वास छ । जनैपूर्णिमाको दिन ढोरबाराहीको दर्शन गर्न सबैभन्दा बढी धार्मिक पर्यटक पुग्छन् । त्यहाँ पर्याप्त होटल नहुँदा धेरै जना बोबाङ र बुर्तिवाङ बजारमा झरेर रात बिताउँछन् । आरक्षका अनुसार आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा पर्यटक आगमन दोब्बरले बढेको छ । २०७९/८० मा पर्यटक प्रवेश शुल्कबाट नौ लाख ८३ हजार २ सय रुपियाँ राजस्व सङ्कलन भएको थियो भने २०८०/८१ मा १९ लाख ३३ हजार सातसय रुपियाँ सङ्कलन भएको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू