यो वर्षको नाडा अटो शोमा उड्ने ट्याक्सी राखिने

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्ने यस वर्षको ‘नाडा अटो शो २०२५’ मा उड्ने ट्याक्सी राखिने भएको छ । आटो शो को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एसोशिएसनका अध्यक्ष करण चौधरीले उड्ने ट्याक्सी राखिने जानकारी दिएका हुन् ।

यो पटकको अटो शो प्रविधिमा केन्द्रित हुने उनले बताए । ‘फ्लाइङ ट्याक्सी’ (ईभीटीओएल) र अत्याधुनिक रोबोटहरू प्रदर्शन गरिने उनको भनाइ थियो । शोमा ५० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक हुनेछन् । ‘गो फर मोर’ नाराका साथ आयोजना हुन लागेको यस पटकको प्रदर्शनीको औपचारिक उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने कार्यक्रम रहेको छ ।

यस वर्षको नाडा अटो शो प्रदर्शनी मात्रै नभएर भविष्यको अटोमोबाइल क्षेत्रको झलक दिने महोत्सव समेत हुने अध्यक्ष चौधरीको भनाइ छ । ‘नाडा आफ्नो स्वर्ण जयन्तीको संघारमा छ । यो केवल एउटा प्रदर्शनी होइन, सम्पूर्ण अटोमोबाइल क्षेत्रको चाड हो । यसपटक हामीले ‘इनोभेसन र टेक्नोलोजी’ लाई केन्द्रमा राखेका छौं, जहाँ आगन्तुकले भविष्यको सवारी अनुभव गर्न पाउनेछन्,’ अध्यक्ष चौधरीले भने ।

नाडा अटो शो २०२५ मा ९० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शकहरू र १२२ भन्दा बढी स्टलहरू रहने जनाइएको छ । जसमा १९ वटा चार पाङ्ग्रे ब्रान्ड, १४ वटा हल्का व्यावसायिक गाडी ब्रान्ड २४ वटा दुई पाङ्ग्रे ब्रान्ड, लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण तथा वित्तीय संस्था गरी ३५ कम्पनीहरू कूल ३ लाख वर्ग फिट क्षेत्रफलमा फैलिने यो प्रदर्शनी नेपालमा आजसम्मकै सबैभन्दा ठूलो अटोमोटिभ प्रदर्शनी हुने नाडाले दाबी गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार