एमच्याम नेपालद्वारा नेपालमा शान्ति, स्थिरता र आर्थिक सुधारको आह्वान

काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एमच्याम नेपाल) ले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई पदभार ग्रहणको अवसरमा बधाई दिँदै नेपालमा शान्ति, स्थिरता र आर्थिक सुधारका लागि सहकार्य गर्न तयार रहेको जनाएको छ। एक विज्ञप्ति जारी गर्दै एमच्याम नेपालले नेपालको लोकतान्त्रिक र आर्थिक यात्राको यस महत्वपूर्ण चरणमा प्रधानमन्त्री कार्कीको नेतृत्वमा मुलुक स्थिरतासँगै दिगो आर्थिक वृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, “हामी स्थिरता, समावेशी वृद्धि र साझा समृद्धि प्रवर्द्धनका लागि अन्तरिम सरकारसँग नजिकको सहकार्य गर्न इच्छुक छौं।”

हालैको घटनामा ज्यान गुमाएका ५१ जनाप्रति गहिरो समवेदना प्रकट गर्दै संगठनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। “शान्त र स्थिर नेपाल आर्थिक विकास र सबैको साझा प्रगतिका लागि आधारशिला हो,” विज्ञप्तिमा उल्लेख छ। एमच्याम नेपालले अमेरिकी व्यावसायिक समुदाय नेपालमा दिगो आर्थिक प्रगति र नेपाली जनताको हितका लागि प्रतिबद्ध रहेको दोहोर्‍याएको छ। साथै, संस्थाले अन्तरिम सरकारसँग मिलेर आर्थिक संरचना सबल बनाउन आवश्यक सुधारका कदमलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको छ।

विज्ञप्तिमा थप भनिएको छ, “कानून र व्यवस्था पुनःस्थापना, सम्पत्तिको थप क्षति रोकथाम र स्थायित्वका लागि सामूहिक कदम आवश्यक छ। पारदर्शी र जवाफदेही संस्था निर्माण तथा सुशासन सुनिश्चित गर्नु सार्वजनिक विश्वास जगाउन र दीर्घकालीन लगानी आकर्षित गर्न अत्यन्त जरुरी छ।” एमच्याम नेपालले नेपालको दीर्घकालीन स्थिरता, सुधार कार्यक्रम र समृद्धिको यात्रामा निरन्तर संवाद र सहकार्य गर्ने प्रतिबद्धता प्रष्ट पारेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार