बाँके । बाँके जिल्लामा उत्पादित तरकारीमा विषादीको मात्रा बढ्दै गएको पाइएको छ। नेपालगञ्जस्थित केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले गत आर्थिक वर्ष २०८१/८२ मा परीक्षण गरेका नमुनामध्ये १० किसिमका तरकारीमा अत्यधिक विषादी फेला परेको जनाएको छ।
प्रयोगशालाका नायब प्राविधिक सहायक गौरव चौधरीका अनुसार सबै कैफियत पाइएका तरकारी बाँके जिल्लाकै उत्पादन हुन्। दश वटामध्ये नौ वटा रायो, माटे र सम्धिनी लगायत सागमा र एउटा बोडीमा विषादीको मात्रा अत्यधिक पाइएको हो। चैत, वैशाख, जेठ र असार महिनामा परीक्षण भएका सबै नमुना रेडलेबल (उपभोग गर्न नमिल्ने) श्रेणीमा परेका थिए।
गत आवमा भारतबाट ४१३, सल्यानबाट २७३, बाँकेबाट ९६२, चितवनबाट ७९, सुर्खेतबाट १२, बर्दियाबाट ५३, दाङबाट ७६ र अन्य जिल्लाबाट समेत नमुना परीक्षण गरिएको थियो । चौधरीका अनुसार तरकारी वा फलफूलमा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत भए ‘ग्रीन लेबल’ (उपभोगयोग्य), ३५ देखि ४५ प्रतिशतबीच भए ‘यल्लो लेबल’ (क्वारेन्टिनपछि उपभोगयोग्य) र ४५ प्रतिशतभन्दा माथि भए ‘रेड लेबल’ (उपभोग गर्न नमिल्ने) मानिन्छ।
नेपालगञ्ज प्रयोगशालामा विभिन्न जिल्लाबाट आउने तरकारी तथा फलफूलसँगै भारतबाट आयात हुने वस्तुको पनि परीक्षण गरिन्छ। परीक्षणको नतिजा करिब डेढ घण्टाभित्र उपलब्ध हुने चौधरीले बताए। गत आवमा एक हजार ८८३ वटा नमुना परीक्षण गर्दा १० वटा नमुनामा कैफियत फेला परेको थियो, जुन अघिल्लो आवको सात नमुनाभन्दा बढी हो। चौधरीका अनुसार परीक्षण दायरा विस्तारसँगै विषादी फेला पर्ने दर पनि बढेको छ।
यस आवको साउनदेखि हालसम्म ४८२ वटा नमुना परीक्षण गर्दा कुनै कैफियत पाइएको छैन। प्रयोगशालामा ‘अर्गानोफस्फेट’ र ‘कार्बामेट’ समूहका दुई प्रकारका विषादीको परीक्षण गरिँदै आएको छ। नेपालगञ्जमा विसं २०७९ मङ्सिरदेखि तरकारी तथा फलफूलमा विषादी परीक्षण सुरु गरिएको हो।