गृहमन्त्रीसँग र अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री अर्यालले पछिल्लो समय मुलुकको अवस्थामा दिनप्रतिदिन सुधार हुँदै आएको उल्लेख गरेका थिए । यसका लागि सबै पक्षसँग सहकार्य भएको तथा सर्वसाधारण र सुरक्षा संयन्त्रबीच विश्वासको वातावरण बनेको उनको भनाइ थियो । राजदूत थम्प्सनले पछिल्लो समय मुलुकमा उत्पन्न परिस्थितिपछि शान्ति कायम गर्न र सुरक्षा व्यवस्थापनका लागि गृहमन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए ।

राजदूत थम्प्सनले पछिल्लो समय एमसिसी परियोजनाका विरुद्धमा भइरहेको बयानबाजी र एमसिए नेपालले केही स्थानमा भोगिरहेको अप्ठ्याराका विषयमा चासो व्यक्त गरेका थिए । सो सम्बन्धमा मन्त्री अर्यालले वर्तमान सरकार अघिल्लो सरकार, संसद्ले गरेका प्रतिबद्धता पूरा गर्नका लागि तयार रहेको बताएका थिए । त्यस अवसरमा राजदूत थम्पसनले नेपालमा रहेका शरणार्थीसम्बन्धी चासो राख्नुभएको र मन्त्री अर्यालले नेपालले सबै प्रकारका मानवअधिकारको सम्मान गर्ने बताएका थिए । साथै गृहमन्त्रालयले निर्वाचन आयोगसँग सुरक्षाका विषयमा परामर्श गरिरहेको मन्त्री अर्यालको भनाइ थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार