जयप्रकाशको प्रेरणादायी यात्राः मजदुरदेखि सफल व्यावसायिक किसानसम्म

काठमाडौं । विगतमा अरूको खेतमा मजदुरी गरेर गुजारा चलाउने बेदकोट नगरपालिका– १ चम्फापुरका जयप्रकाश राना अहिले आफ्नै बारीमा दर्जनौँ किसानलाई रोजगारी दिनसक्ने सफल व्यावसायिक किसान भएका छन् ।

दुई दशकदेखि निरन्तर तरकारीखेतीमा संलग्न रानाले नर्सरीमा तरकारीका बिरुवासँगै तरकारी उत्पादन गरी बिक्री गरेर वार्षिक रूपमा १५ लाख रुपैयाँ बढी आम्दानी गर्दै आएका छन् । मेहनत, सीप र आत्मविश्वासको बलमा उनले आफ्नो जीवनमात्र होइन, गाउँको कृषि अभ्यासलाई परिवर्तन गरेका छन् । उनको प्रेरणाले अन्य किसान पनि व्यावसायिक तरकारीखेतीमा संलग्न भएका छन् ।

कडा परिश्रम, आत्मविश्वास र सीपको भरमा तरकारीखेतीलाई जीवनको प्रमुख व्यवसायमा रानाले रूपान्तरण गरेका छन् । उनका प्लाष्टिकको टनेलभित्रका हरिया बारी र उन्नत नर्सरीले स्थानीयलाई मात्र होइन, टाढा–टाढाका किसानलाई समेत प्रेरणा दिएको छ । सूर्योदय हुनुअघि नै तरकारीको बिरुवा स्याहार्ने कार्यबाट उनको दिनको सुरुआत हुन्छ । राजमार्गसँगै जोडिएको उनको नर्सरीबाट बिरुवा खरिद गर्ने किसानको दिनहुँ भिड लाग्ने गर्दछ । उन्नत बीउका कारण टाढाका गाउँ र नगरका किसान उनकै बारीमा बिरुवा खरिद गर्न आउने गर्दछन् ।

रानाले काउली, गोलभेँडा, ब्रोकाउली, रायो, भण्टा, सिमला मिर्चा, प्याजलगायतका बिरुवा बारीमा उत्पादन गरेका छन् । त्यही नर्सरीका बिरुवाबाट उनले आफ्नो खेतमा व्यावसायिक तरकारीखेती पनि गर्छन् । अतिरिक्त रूपमा धनियाँ, लौका, तीतेकरेला, फर्सी र काँक्रासमेत खेती गर्छन् । २०५८ देखि निरन्तर कृषिमा संलग्न राना विगतमा अरूको खेतमा मजदुरी गरेर गुजारा चलाउँथे । ‘पहिले अरूको खेतमा बेर्ना तयार गर्न र रोप्न माटो तयार गर्थे, मल हाल्थे विषादी छर्किन्थे, बेर्ना हुर्काउँथे, बिरुवा स्याहार्ने कार्य गर्दथे’, रानाले भने, ‘त्यही क्रममा खेतीका तौरतरिका सिके र आफूले पनि गर्ने हिम्मत गरेँ, व्यावसायिकखेती गर्ने निधो गरी लागेँ ।’

थोरै पुँजी र ठूलो जोशका साथ राजमार्गनजिकैको खेतमा पहिलोपटक तरकारीका बिरुवाको नर्सरी सुरु गरेको विगत सम्झँदै उनले भने, ‘सुरुका वर्षमा उत्पादन कम भए पनि सबै बिरुवा बिक्री भएपछि सोचेभन्दा बढी नै आम्दानी भयो, त्यो आम्दानीले तरकारीखेती गर्ने आत्मविश्वास पलायो, त्यसपछि तरकारीका बेर्नाको नर्सरी तयार गरी बिरुवा बेच्न थालेँ, तरकारीखेती गरी तरकारी बेच्न सुरु गरेँ, आम्दानी बढ्दै गयो, त्यसपछि पैसाका लागि अरुसँग हात थाप्नै परेन ।’

एक बिघा र चार बिघा लिजमा लिएर तरकारीखेती हुने गरेको छ । नर्सरीबाट मात्र वार्षिक करिब पाँच लाख रुपैयाँ र तरकारीखेतीबाट करिब १० लाख रुपैयाँ आम्दानी हुने गर्दछ । ‘पहिले महिनामा तीन हजार जति पारिश्रमिक पाउथेँ, अहिले खेतीबाट लाखौँको कारोबार हुन्छ’, उनी हाँस्दै भन्छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार