काठमाडौं । एसियन होटल लिमिटेडको पहिलो वार्षिक साधारणसभा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दै सकिएको छ । सञ्चालक समितिका अध्यक्ष पारस अधिकारीको अध्यक्षतामा बसेको साधारणसभाले आईपीओ जारी गर्ने पस्ताव पारित गरेको हो ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गरेको हो । सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी शंसोधन गर्दै पुँजी संरचनामा पुनर्संरचना गर्ने तथा संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना समेत पुनर्सन्तुलन गर्ने निर्णय समेत गरेको छ ।
साथै सभाले १०० रुपैयाँ दरका ४२ लाख कित्ता साधारण सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्दै प्रशासनिक, वित्तीय र प्राविधिक सुधारका लागि सञ्चालक समितिलाई आवश्यक निर्णय गर्ने अधिकार प्रदान गरेको छ ।
एशियन होटल लिमिटेड भैरहवा, लुम्बिनी प्रदेशमा अवस्थित चार–तारा स्तरको लक्जरी होटल हो । होटलमा ६६ वटा (“एलीट किंग”, “क्लासिक प्रिमियम”, “सुइट” जस्ता) आधुनिक र आरामदायक कोठा, स्वीमिङ पूल, स्पा र २४–घण्टा स्वास्थ्य क्लब सुविधा उपलब्ध छन् । विवाह, सम्मेलन वा सामाजिक समारोहहरूको लागि बैंक्वेट हल, सम्मेलन हल र पार्टी प्यालेसबाट कम्पनीले उच्च स्तरिय इभेन्ट व्यवसाय गर्दै आएको छ । होटलमा क्यासिनो, तीन प्रकारका बार, फ्री वाइफाइ, मिनीबार, लक्स बाथटब÷जाकुजि, कार पार्किङ, खुला गार्डेन र मनोरञ्जनात्मक गतिविधिहरू जस्तै क्याम्पफायर र गेम स्क्रिन पनि उपलब्ध छन् ।
कम्पनीले सेयरधनीहरूप्रतिको विश्वासको पुनः पुष्टि गर्दै, भविष्यमा एशियन होटलको सेवा स्तर र व्यवसाय विस्तारमा अझ सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अध्यक्ष पारस अधिकारी ले कम्पनीले छोटो अवधिमै उल्लेखनीय प्रगति गरेको र होटललाई नेपालको अग्रणी पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । होटलले दीगो पर्यटन, स्थानीय सहकार्य र उच्चस्तरीय आतिथ्य विस्तारलाई आगामी वर्षको प्राथमिकतामा राखेको जानकारी दिइयो । कम्पनीले आईपीओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्रि प्रवन्धकको रुपमा नियुक्ति गरिसकेको छ ।