जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पाटीबीच एकीकरण गर्ने सहमति भएको छ । दुवै पार्टीका अध्यक्षद्वयले आइतवार बसेको बैठकबाट पार्टी एकता गर्ने निर्णय गरेका हुन् । पछिल्लो विकसित राजनीतिक घटनाक्रम पछि धेरै राजनीतिक दलहरु चुनावी वा पार्टी एकीकरण गर्नु पर्ने दबाबमा छन् । यही परिप्रेक्ष्यमा जसपा नेपाल र लोसपा पनि पार्टी एकता गर्ने निष्कर्षमा पुगेको हा ।
दुवै अध्यक्षको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै देशको लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई सुदृढ बनाउने, पहिचान, समावेशिता, समानुपातिक समावेशिता र सामाजिक न्यायका मुद्दालाई अझ प्रभावकारी रूपमा अघि बढाउने उल्लेख गरिएको छ । सोही आवश्यकतालाई मध्यनजर गर्दै जसपा, नेपाल र लोसपा नेपाल पार्टी एकीकरण गर्ने निर्णय गरिएको विज्ञप्तिमा बताइएको छ ।

जसपा नेपाल र लोसपाबीच एकतापछि बन्ने गठबन्धन अब मधेशको सबैभन्दा ठूलो दल बन्ने भएको छ । अहिले मधेश प्रदेश सभामा नेकपा एमालेको २४ सदस्य रहेको छ । मधेशमा जसपा नेपालको १९ र लोसपाको ९ प्रदेश सदस्य रहेका छन् । अब जसपा नेपालको सरोज सिंह कुशवाहा र लोसपाका अविराम शर्मा निलम्बित सदस्य बाहेक दुई दलको एकतापछि २६ जना प्रदेश सभा सदस्य हुनेछन् । जसपा अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरलाई सम्मानित नेता बनाएर बाँकी नेताहरु व्यवस्थापन गर्ने तयारी गरेका छन् ।
अशोक राई छोडेर रेणु यादव लगायत पनि उपेन्द्र मोर्चामै
अशोक राई नेतृत्वमा रहेको जनता समाजवादी पार्टीका केही नेताहरू पनि जसपा नेपालमै फर्किएका छन् । सोमबार जसपा सहअध्यक्ष रेणु यादवको नेतृत्वमा पूर्वमन्त्री प्रदिप यादवसहितका केन्द्रीय सदस्यहरु जसपा नेपालमा फर्किएका हुन् । जसपा नेपाल अध्यक्ष यादव र रेणु यादवले संयुक्त हस्ताक्षर सहितको विज्ञप्ति सार्वजनिक गर्दै एकता गरेको जानकारी दिएका छन् ।

मधेशको पावर सेन्टर बन्ने सम्भावना
मधेश केन्द्रीत राजनीतिमा सीके राउतको जनमत पार्टीले पछिल्लो निर्वाचनमा तरंग पैदा गरेको थियो । तर संसदीय अभ्यासमा आएको छोटो समयमै सीके राउतको राजनीति धरमर अवस्थामा पुग्यो । व्यक्तिगतदेखि पार्टी सञ्चालनसम्मा सीके राउतमाथि प्रश्न उठ्यो भने उनका कैयौं सहयात्रीले छोडेर हिंडे । मधेशको मसिहा बन्ने बाटोमा रहेका सीके अहिले वास्तवमै कमजोर अवस्थामा पुगेका छन् । उपेन्द्र समूह भने आशन्न निर्वाचनमा झन बलियो बनेर उदाउने सम्भावना अधिक भएको छ ।