
बिर्तामोड । नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले झापा – ५ बाट केपी शर्मा ओली झनै धेरै मत ल्याएर चुनाव जित्ने बताएका छन् । अध्यक्ष गिरीले बालेन शाह झापा आउने चर्चाका बीच यस्तो धारणा व्यक्त गरेका हुन् ।
पार्टी अध्यक्ष ओलीको नाम झापा– ५ बाट एकल सिफारिस भएको जानकारी दिदैं गिरीले बालेन आए एमालेले मतान्तर थप बढाउने जानकारी दिए । सञ्चारकर्मीसँग कुरा गर्दै झापा – ५ मा बालेन आउनुले एमालेलाई केही पनि फरक नपर्ने गिरीको भनाई छ । पपुलिष्टकै आधारमा भूगोलमा आएर निर्वाचन जित्न सजिलो छैन, हामीले जनताको काम गरेका छौं, उनले भने – बालेन झापाबाट उम्मेदवार बन्नेमा विश्वास छैन, आइहाले फरक पनि पर्नेछैन ।
अध्यक्ष गिरीले कुलमान घिसिङ र बालेनलाई रास्वपासँग अदृष्य शक्तिले जवरजस्त मिलाएको दावी गरेका छन् । कुलमान जी बाहिरिनु भइसक्यो, बालेनजीलाई पनि रास्वपाले मनदेखि स्वीकार्न सक्दैन, उनी भन्छन् – रास्वपाले बालेनको राजनीति झापाबाटै सिध्याउने रणनीति बनायो । क्षेत्रमा पनि रास्वपाका कार्यकर्ताले बालेनलाई स्वीकार गर्न सक्दैनन् ।
बालेनलाई अदृष्य शक्तिहरुले नै प्रधानमन्त्री घोषणा गरेको बताउँदै गिरीले उक्त घोषणा रास्वपालाई मन नपरेको प्रतिक्रिया दिए । रास्वपा निर्माण गर्न रवि लामिछाने र अन्य नेता कार्यकर्ताले दुख गरे, प्रधानमन्त्री अर्को मान्छे बनाउने भन्दा मान्ने अवस्था छैन, उनले थपे । परिस्थितिजन्य बाध्यताका कारण रास्वपाले बालेनलाई प्रधानमन्त्रीको रुपमा अघि सारेको गिरीको भनाई छ ।
पूर्व प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो बनाउन सकिन्छ कि भनेर बालेन फण्डा गरिएको हुन सक्ने उनको भनाई छ । एमाले आफ्नो संगठनको बलमा निर्वाचन लड्ने बताउँदै उनले झापा क्षेत्र नं. ५ मा अध्यक्ष ओलीले अत्याधिक मतका साथ विजयी हुने बताए । विकास निर्माणको कामप्रति क्षेत्रका जनता सन्तुष्ट रहेको र बालेन टुरिस्ट उम्मेदवार हुँदा ओलीलाई निर्वाचन जित्न धेरै सजिलो हुने नेता गिरीको भनाई छ । सडक, पुलसहित पूर्वाधार विकासमा कायापलट गरेका कारण जनताको एमालेलाई हुनेमा विश्वास व्यक्त गरे ।
अघिल्लो निर्वाचनमा अध्यक्ष ओली २८ हजार ५७६ मतान्तरले निर्वाचित भएका थिए । गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई पराजित गर्दै दोब्बरभन्दा बढी मतान्तर निर्वाचित बनेका थिए । एक लाख २ हजार १५० खसेको मतमध्ये ९८ हजार ६३१ मत सदर भएकोमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका थिए । अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गरेका थिए ।












समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो