काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ खुला हुने मिति सरेको छ । कम्पनीको आईपीओ जारी गर्ने मिति एक दिन पछि सरेको हो ।
कम्पनीले यस अघि फागुन ४ गतेदेखि निष्काशन गर्ने भनेकोमा अब फागुन ५ गतेदेखि निष्काशन गर्ने भएको छ । कम्पनीलाई सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले माघ २७ गते पत्र पठाउँदै अन्य कम्पनीको आईपीओ निष्काशनको तालिकासँग जुध्न गएकोले निष्काशन मिति परिवर्तन गर्न आग्रह गरेको थियो । त्यसैअनुसार कम्पनीले एकदिन ढिलो गरी बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ३१ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसमध्ये १५ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावितका लागि र १ लाख ५५ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।
कम्पनीले बाँकी आईपीओमध्ये सामूहिक लगानी कोषका लागि ७७ हजार ५०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि ३१ हजार कित्ता आईपीओ सुरक्षित गरी बाँकी रहेको १२ लाख ८६ हजार ५०० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।