
काठमाडौं । नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षालाई विगतको तुलनामा थप व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउन विशेष रणनीतिक योजना अघि सारेको जनाएको छ । यस पटकको एसईईमा देशभर र वैदेशिक केन्द्रसहित गरी ५ लाख १२ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी हुँदैछन् । यस वर्षको एसईई परीक्षामा ‘उत्तरपुस्तिका परीक्षणको विकेन्द्रीकरण’ र ‘नतिजामा तीव्रता’ अभ्यास गर्न लागेको बोर्डले जनाएको छ । सरकारले विद्यार्थीको भविष्य र समयलाई मध्यनजर गर्दै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी गरेको हो ।
एक महिनामै नतिजा ल्याउने नयाँ कार्ययोजना
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले कार्यभार सम्हालेलगत्तै शिक्षा क्षेत्रमा सुधार गर्ने दाबी सहित निर्णयहरु गरिरहेका छन् । मन्त्रालयका एक सहसचिवका अनुसार उनले एसईईको नतिजा ढिला हुँदा विद्यार्थीहरूको शैक्षिक क्यालेन्डर बिग्रिएको र उनीहरूमा मानसिक तनाव बढेको भन्दै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न निर्देशन दिएका थिए ।
सोही निर्देशनलाई कार्यान्वयन गर्न राष्ट्रिय परीक्षा बोर्डले यस वर्षदेखि उत्तरपुस्तिका परीक्षणको परम्परागत शैलीमा परिवर्तन गरेको छ । विगतका वर्षहरूमा एक प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा पठाउने र गोप्य केन्द्रहरू तोकेर परीक्षण गर्ने प्रचलन थियो । यसले गर्दा ओसारपसार र समन्वयमा धेरै समय खर्च हुने गथ्र्यो । तर यस वर्ष बोर्डले जुन परीक्षा केन्द्रमा परीक्षा भएको हो । सोही क्षेत्रका परीक्षण केन्द्रहरूबाट उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गरेको छ ।
सवा ५ लाख विद्यार्थी, जापानमा पनि केन्द्र
बोर्डको तथ्याङ्क अनुसार कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थीले परीक्षाका लागि फारम भरेका छन् । ती मध्ये छात्राको संख्या २ लाख ५७ हजार ६ सय १३ रहेको छ भने छात्रको संख्या २ लाख ५४ हजार ८ सय १ रहेको छ । यसैगरी, ७ जना अन्य लिङ्गी विद्यार्थीहरूले पनि यस पटकको एसईईमा सहभागी छन् ।
यस वर्ष पनि जापानमा रहेको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीहरू एसईई परीक्षामा सहभागी हुँदैछन् । जापानमा रहेका नेपाली समुदायका बालबालिकाहरूका लागि त्यहाँको स्थानीय समय र नेपालको समयबिच तालमेल मिलाएर परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ । देशभर र जापान समेत गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्रहरू निर्धारण गरिएका छन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व