काठमाडौं । रुपन्देहीमा सुरु भएको यु १९ क्रिकेट प्रतियोगितामा न्यु होराइजन क्रिकेट एकेडेमीले विजयी शुरुवात गरेको छ । पूर्व अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले आफनो स्वर्गिय बुबा खड्ग प्रसाद गौचनको स्मृतिमा आयोजना गरेको सातौ संस्करणको यु–१९ राष्ट्रीय क्रिकेट प्रतियोगिता सुरु भएको हो ।
उद्घाटन खेलमा रुपन्देहीको न्यु होराइजनले नेपथ्य तिलोत्तमा क्रिकेट क्लबमाथि ५ विकेटको जित निकालेको हो । एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा भएको प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको तिलोत्तमाले ३८.३ मा १ सय ४१ रन बनाएको थियो । तिलोत्तमाका सन्दिप यादवले ५० बलमा ३५, अमन बोहराले ४५ बलमा २२ तथा लक्ष्मण कुमालले २७ बलमा १६ रन बनाए । बलिङतर्फ न्यु होराइजनका शुभम केले ५ र दर्शन सुनारले २ विकेट लिए ।
मध्यम लक्ष्य पछ्याएको होराइजन २४.५ ओभरमा ५ विकेट जित निकाल्न सफल भयो । न्यु होराइजनको जितमा दर्शन सुनारले ५६ बलमा ५२ रन बनाए । यसैगरी सचिन जिसीले २८ बलमा २१ तथा सुरज खड्काले २४ बलमा नटआउट २० रनको योगदान दिए । तिलोत्तमाका सागर भण्डारीले ३ तथा लक्ष्मण कुमालले १ विकेट लिएका थिए । खेलमा होराइजनका दर्श सुनार प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यस अघि एक समारोहका बिच राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगीताको उद्घाटन घाटन गरेका थिए । कार्यक्रममा रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापा, पूर्व राष्ट्रिय खेलाडी तथा एम्पायर संजय गुरुङ्ग, खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, वेष्ट्रन क्रिकेट क्लबका निर्देशक भुवन पाण्डे, एकेडेमीका निर्देशक कविता गौचनले युवा खेलाडीहरुलाई प्रतियोगिता राम्रो अवसरका रुपमा रहेको बताए ।
प्रतियोगितामा नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमी, न्यु होराईजन स्पोर्टस क्लब क्रिकेट, एक्सलेन्स सेन्टर काठमाण्डौ, पोखरा क्रिकेट एकेडेमी, रुपन्देही क्रिकेट, वेष्ट्रन क्रिकेट एकेडेमी सहभागी छन । प्रतियोगिताको फाईनल खेल फागुन ९ गते हुनेछ ।