पोखरा । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिकवान् जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिइन् ।
नवीन प्रविधि विकास, अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलापमा बढावा दिनु आवश्यक रहेको भन्दै उनले विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष जोड्न सक्नुपर्नेमा जोड दिइन् । आर्थिक समृद्धि र मानव कल्याणसँग जोड्न नसकिए ज्ञान वा पाठ्यक्रम सन्दर्भहीन हुने उनको भनाइ थियो ।
“विश्वविद्यालयको अध्ययन पूरा गर्नासाथ ठूलो सङ्ख्यामा युवा विदेशतर्फ आकर्षित हुनु हाम्रो साझा चिन्ताको विषय हो । त्यसैले नवीन प्रविधि र तीव्र गतिमा बदलिँदो विश्व परिवेशमा आफूलाई कसरी अनुकूल बनाउने, कसरी प्रतिस्पर्धी र सक्षम बनाउनेतर्फ विद्यार्थी र विश्वविद्यालय दुवै केन्द्रित हुन आवश्यक छ”, प्रधानमन्त्री कार्कीले भनिन्।
उनले परिवर्तनलाई अवसरका रूपमा ग्रहण गर्दै नवप्रवर्तन र उद्यमशीलताको बाटो समात्नु वर्तमान समयको अनिवार्य आवश्यकता भइसकेको बताइन् । स्थापनाकालदेखि नै पोखरा विश्वविद्यालयले व्यवस्थापन, विज्ञानलगायतका क्षेत्रमा उच्च शिक्षाको पहुँच विस्तारमा उल्लेखनीय योगदान पुर्याउँदै आएको भन्दै उनले प्रशंसा गरिन् ।
“अब गुणस्तरीयतामा ध्यान केन्द्रित गर्दै विश्व बजारको माग अनि प्रतिस्पर्धामा खरो उत्रन सक्ने जनशक्ति र ज्ञानको उत्पादनमा विशेष मेहनत गर्नुपर्ने देखिन्छ”, प्रधानमन्त्री कार्कीले भनिन्,“दीक्षार्थीले प्राप्त गर्नुभएको प्रमाणपत्र रोजगारीको आधार मात्र होइन, यो नेपाली समाज र राष्ट्रका जटिल समस्या पहिचान गरी तिनका दीर्घकालीन समाधान खोज्न सक्ने क्षमताको द्योतक पनि हो । त्यसमा सफल बन्नुपर्छ ।”
प्रधानमन्त्री कार्कीले आजको युगमा युवा नै राजनेता, प्रशासक, नीति–निर्माता र समाज रूपान्तरणका अभियन्ता रहेको भन्दै त्यसको जग आजैबाट मजबुत बनाउनुपर्ने धारणा राखिन् । उनले गत भदौ २३ र २४ गते जेनजी युवाले उठाएका आवाजहरू पनि धेरै गहन र आधारभूत सवालसँग जोडिएका बताइन्।